मानव बेचबिखन बढ्दै, एक वर्षमा २२ जनाको उद्धार

| 2022 Dec 20 | 03:46 pm 1709

कञ्चनपुर, पुस ५: मानव बेचबिखनका घटना बढ्दै गएको पाइएको छ। माइती नेपाल कञ्चनपुरले एक वर्षमा बेचबिखनमा परेका २२ जना नेपालीलाई भारतबाट उद्धार गरेको छ।

माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टका अनुसार भारतको दिल्लीबाट छ जना, पुणेबाट चार जना, सिमलाबाट दुई जना, हल्दानीबाट दुई जना, मुम्बईबाट दुई जना, हरियाणाबाट एक जना, चण्डीगढबाट दुई जना, बैङ्गलोरबाट दुई जना र अयोध्याबाट एक जनाको उद्धार गरिएको छ।

दुई सय ५ जनाको खोजतलासका लागि माइती नेपालमा निवेदन परेको थियो। जसमध्ये ३५ जनाको खोजी गरी माइती नेपालले परिवारको जिम्मा लगाएको छ।

त्यसैगरी गड्डाचौकी नाकाबाट ८८ जना र झोलुङ्गे पुलबाट ६८ जनाको उद्धार गरिएको छ। जसमा ७५ जना १८ वर्ष मुनिका बालबालिका छन्। सीमा नाकाबाट परामर्श गरी ४९ जनालाई घर फर्काइएको छ।

उद्धार गरिएकामध्ये दुई वटामात्रै मानव बेचबिखनमा मुद्दा दर्ता भएको संयोजक भट्टले बताइन्। उनले मानव बेचबिखनमा संलग्न व्यक्तिमाथि कारवाही हुन नसक्दा बेचबिखनका घटना बढ्दै गएको बताए।

पछिल्लो समय दलालले वैकल्पिक मार्ग अपनाउन थालेकाले पनि मानव बेचबिखनका घटना बढ्दै गएको उनको भनाइ छ। बेचबिखनमा पर्ने बढीजसो दलित समुदायका र घरायसी आर्थिक अवस्था कमजोर भएका समुदायबाट रहेको उनले जानकारी दिए।

यसवर्ष माइती नेपालले मानव बेचबिखनविरुद्ध दुई वटा मुद्दा दर्ता गरेको छ भने गत वर्ष एउटा मात्रै मुद्दा दर्ता गरेको थियो। साभार अन्नपूर्ण

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.