मानव तस्करको बन्धकमा नाइजेरियामा २३ नेपाली

रिपोर्ट नेपाल | 2018 Jun 09 | 08:05 am 4197

काठमाडौं, जेठ २६: अलग बाटो र उपायबाट अमेरिका लैजाने भन्दै २२ महिनाअघि थाइल्यान्ड हुँदै नाइजेरिया पुर्‍याइएका २३ नेपालीलाई मानव तस्करले लेगोसमा बन्धकसरह बनाएर राखेका छन् ।

बिचल्ली पारिएकामध्ये बाग्लुङका बिविन्द्रप्रसाद श्रेष्ठका दाजु रवीन्द्रले दिएको जानकारीअनुसार काठमाडौंदेखि नाइजेरियासम्म सञ्जाल बनाएका मानव तस्करको समूहले उनीहरूलाई लेगोसको एउटा होटलमा बाहिरसमेत निस्कन नदिई राखेका छन् । रवीन्द्रका अनुसार उनीहरू सबैको पासपोर्ट जफत गरी गैरकानुनी हैसियतमा राखिएको छ ।

दिल्ली, लेगोस, मेक्सिको हुँदै अमेरिका लैजाने भन्दै मानव तस्करले नाइजेरिया पुर्‍याएर बन्धक बनाएका छन् । ‘३० मध्ये ६ जना दलालको चंगुलबाट उम्केर काठमाडौं आएका रहेछन्, उनीहरूले काठमाडौंमा प्रहरी र परराष्ट्रमा दिएको निवेदनपछि एक जना स्थानीय एजेन्टलाई शुक्रबार पक्राउ गरिएको थाहा पाएको छु,’ रवीन्द्रले भने । बिविन्द्रले अमेरिका जान २५ लाख रुपैयाँ दलाललाई बुझाएका थिए । विदेश उडेका सबैलाई काठमाडौंबाट दिल्ली हुँदै बैंकक र त्यहाँबाट लेगोस, मेक्सिको हुँदै अमेरिका लैजाने भनिएको थियो ।

रवीन्द्रले परराष्ट्रको कन्सुलर सेवा विभागमा दिएको निवेदनमा मानव तस्करीमा संलग्न जेसन श्रीश (राजु), बैंकक बस्ने गोविन्दराज भारती (राज) र धोजेन्द्र दगामी मगरलाई पक्राउ गर्न तथा बिचल्लीमा परेका नेपालीलाई घर फिर्ताको पहल गर्न आग्रह गरिएको छ । लेगोसमा राखिएका मध्ये ७ जनालाई एउटै होटल र अन्यलाई भिन्न ठाउँमा लुकाएर राखिएको कन्सुलरलाई जानकारी गराइएको छ । बिचल्ली पर्नेहरू सबै बाग्लुङ र म्याग्दीका भएको खबर कान्तिपुर दैनिकमा छ ।

बिचल्ली परेका नेपालीलाई घर फिर्ता गराउन र कूटनीतिक तहमा कानुनी प्रक्रिया समन्वय गर्न गैरआवासीय नेपाली संघका केन्द्रीय कोषाध्यक्ष हिक्मत थापाले लेगोसमा सहयोग गर्ने भएका छन् । ‘मैले बिचल्ली परेका कामदारबारे जानकारी पाएको छु,’ हाल काठमाडौं आएका कोषाध्यक्ष थापाले भने, ‘तत्काल नाइजेरिया फर्केर घरफिर्तीका लागि आवश्यक पहल थाल्नेछु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.