मानव अधिकार हननका पीडित परिवारले पाउने भए क्षतिपूर्ति

रिपोर्ट नेपाल | 2018 Jul 18 | 06:13 pm 3152

काठमाडौँ, साउन २ : राष्ट्रिय मानव अधिकार आयोगको सिफारिशमा मानव अधिकार हननसम्बन्धी घटनाका ३३ पीडित परिवारलाई सरकारले क्षतिपूर्ति दिने भएको छ ।

२०५९ असारदेखि २०६२ फागुनसम्म मानव अधिकार हननसम्बन्धी घटनामा सात मृतक, सात यातना पीडित, तीन बेपत्ता, चार घाइते अशक्त, तीन गैरकानूनी थुनामा, आठ घाइते गरी ३३ पीडितका परिवारलाई रु ७५ लाख १४ हजार नौ सय क्षतिपूर्ति दिने निर्णय सरकारबाट भएपछि पीडित परिवारले क्षतिपूर्ति पाउने भएका हुन् ।

मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेपछि पीडितले राहत महसुस गर्ने भएका छन् । मानवअधिकार हनन् सम्बन्धी प्राप्त क्षतिपूर्ति रकम सम्बन्धीत जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत पाउने भएका छन् ।

मानव अधिकार हननसम्बन्धी घटनामा क्षतिपूर्ति पाउनेहरुमा मृतक रसुवा लहरेपौवा–२ का अर्जुन लामिछाने, समरथली–७ रसुवाका लीलामाया तामाङ , समरथलीकै–७ का वीरबहादुर तामाङ, ललितपुर माल्टा–२ का शुकबहादुर थिङ , भीमबहादुर बोम्जन, नुवाकोट शिखरबेंसी–६ का चतुरनारायण योगी र कैलाली दरम–२ का खुशीराम चौधरीका परिवारले तीन लाखका दरले क्षतिपूर्ति पाउने बताइएको छ ।

कैलाली रतनपुर–५ घटनामा घाइते भएकामध्ये रमदैया चौधरी र माधुरी चौधरी लाई पनि रु तीन लाख दिने निर्णय भएको छ । यसैगरी अलिसा चौधरीलाई रु दुई लाख ५० हजार, रुपादेवी चौधरीलाई रु दुई लाख ५० हजार र अमिसा चौधरीलाई रु तीन लाख र प्रदेश चौधरीलाई रु दुई लाख ५० हजार क्षतिपूर्ति सरकारले दिने भएको छ ।

गैरकानूनी थुनामा परेका व्यक्ति काठमाडौँ नाङ्लेभारेका घनश्याम बस्ताकोटीलाई दश हजार पाँच सय, कैलाली फूलबारी–६ का तीर्थराज पौडेललाई रु १० हजार र जुम्ला महतगाउँका क्षेत्रबहादुर महतलाई रु एक लाख ४४ हजार क्षतिपूर्ति दिइनेछ ।

बेपत्ता पारिएका व्यक्तिहरु कञ्चनपुर श्रीपुर–२ का छोटेलाल चौधरी, नाथुराम चौधरी र जंगबहादुर चौधरीका परिवारले रु तीन लाखका दरले क्षतिपूर्ति पाउने भएका छन् । त्यसैगरी, बेपत्ता पारिएका व्यक्ति कैलाली रतनपुर–५ का धरमपाल चौधरीको परिवारलाई रु तीन लाख क्षतिपूर्ति उपलब्ध गराइने छ ।

घाइते बझाङ चैनपुर–८ का राजन रजकलाई रु तीन लाख र लोकेश हमालले रु दुई लाख ५० हजार क्षतिपूर्ति पाउने भएका छन् । घाइते तथा अशक्त कैलाली मालाखेती–३ का तेजबहादुर साउदलाई रु दुई लाख, कैलाली भजनी–३ का भुवनराज न्यौपानेलाई रु तीन लाख र कञ्चनपुर देखतभुली–८ का भीमबहादुर विष्टलाई रु तीन लाख दिइने भएको छ ।

यातनापीडित नुवाकोटका लक्ष्मण न्यौपानेलाई रु ७५ हजार दिइने छ भने अरुणोदय–९ तनहुँका झकबहादुर कुमाल र नेत्रबहादुर कुमाललाई जनही रु एक लाख दिइने छ । अन्य यातानापीडितमध्ये नेउलापुर–५ बर्दियाका विष्णुवन सन्यासीलाई रु एक लाख, हसुलिया–१ कैलालीका भीमबहादुर कोलीलाई रु एक लाख ७५ हजार दिइने छ । नुवाकोट कुमरी–२ का यातना पीडित दामोदरप्रसाद गौतमले पनि क्षतिपूर्तिबापत रु एक लाख पाउने भएका छन् ।

मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले पीडित परिवारलाई क्षतिपूर्ति दिने सरकारको निर्णयलाई आयोगले सकारात्मक रुपमा लिएको बताएका छन्। जसरी सरकारले पीडितलाई क्षतिपूर्ति दियो त्यसैगरी दोषीलाई कार्वाहि गर्न पनि सरकारले खुट्टा कमाउनु नहुने पाठकको भनाइ रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.