जुम्ला, फागुन ३ : संसारमा सबै भन्दा दुर्लभ स्तनधारी जनावर मानीने रेडपाण्डा तस्करहरूकाे चाेरी निकासीका कारण यो जनावर लोप हुँदै गएको छ ।
बाँसस्थानमा गरिने चोरी सिकार, वनजङ्गल फँडानीलगायत विविध कारणले गर्दा याे जनावर लोप हुँदै गएकाे हाे । विगत केही वर्ष अघिसम्म सहज रुपमै देखिन सकिने यी दुर्लभ वन्यजन्तु आज भोली देखिन वा पाउन छोडेका छन् ।
हाब्रे नेटवर्कको समन्वयमा कर्णाली विकास हातेमालो सेवा समाज जुम्लाले सिञ्जा र पातारासी गाउँपालिकामा हाब्रे संरक्षणका लागि अभियानका रुपमा काम गर्दै आएको छ । एक सय ५० सामुदायिक वनसँग समन्वय गरी हाब्रेको संरक्षण गर्नुका साथै चोरी सिकारीलाई न्यूनीकरण गर्ने बताइएकाे छ ।
सरकारले हाब्रे संरक्षणका लागि छुट्टै नीति बनाए तापनि अन्य जनावर जस्तै, हाब्रेलाई प्राथामिकता नदिँदा सङ्कटमा परेको अनुसन्धानले देखाएको हाब्रे नेटवर्क अनुसन्धानकर्ता सरोज श्रेष्ठले बताएका छन् ।
हाल नेपालमा ५ सय मात्रै हाब्रे भएको र ४३ प्रतिशत हाब्रेको बासस्थान कर्णालीमा रहेको अनुसन्धानले देखाएको छ । अनुसन्धानका अनुसार जुम्लाका गिडिखोला, देपालगाउँ, ताम्ती, पातारासी, रिया, लगायतका क्षेत्रमा आवश्यक बासस्थान उपयुक्त रहेको अर्का अनुसन्धानकर्ता प्रगति शाहीले बताए ।
वन्यजन्तुको चोरी सिकारी पछिल्लो समय बढ्दै गएको तर दण्ड सजाय नहुनु प्रमुख समस्याका रुपमा देखिएको छ । मानवीय आवश्यकता परिपूर्ति गर्नका लागि वनजङ्गल विनाश भए तापनि चोरी सिकारी नै प्रमुख समस्याका रुपमा देखिएको अनुसन्धानकर्ताको भनाइ छ ।
हालसम्म नेपालका २४ वटा जिल्लामा मात्र हाब्रे पाइन्छन् । वन्यजन्तुको चोरी सिकारीलाई न्यूनीकरणका सम्बनिधत निकाय तथा स्थानीय सरकारले विशेष गरी अभियान चाल्नुपर्ने विज्ञहरू बताउँछन् ।