काठमाडौ, भदाै ५ः नयाँ दल दर्ताका लागि गत बुधबार निर्वाचन आयोगमा निवेदन दिएका माधवकुमार नेपाल र महन्थ ठाकुरले प्रस्तावित दलको नाम नाम फेरेका छन् ।
ती दुवै पक्षले दर्ताका लागि निर्वाचन आयोगमा प्रस्ताव गरेको नाम अन्य दलसँग मिल्दोजुल्दो भएको भन्दै आयोगले दर्ता गर्न नमानेपछि सो समूहले नयाँ नाम प्रस्ताव गरेको हो ।
नेपाल समूहका नेता राजेन्द्र पाण्डे र डा. विजय पौडेलसहितको बिहीबारको छलफलका क्रममा आयोगले उनीहरूलाई नयाँ नाम ल्याउन भनेको थियो । सोहीअनुसार पाण्डे र पौडेललगायतले दलको नयाँ नाम ‘नेकपा एकीकृत समाजवादी’ प्रस्ताव गरेका हुन् ।
‘उहाँहरूले नयाँ नामसहित दल दर्ताका लागि पुनः पत्र लिएर आउनुभएको छ, आयोगले अब प्रक्रिया अघि बढाउँछ,’ निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले राजधानीसँग भने ।
‘नेकपा एकीकृत समाजवादी’ र ‘लोकतान्त्रिक समाजवादी पार्टी’ प्रस्ताव
यसअघि नेपाल पक्षले नयाँ दलको नाम नेकपा एमाले (समाजवादी) राखेको थियो । यसैगरी, नयाँ दलमा पहिले ९५ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएकामा हाल बढाएर १ सय १५ पु-याइएको छ । तर, निर्वाचन चिह्नबारे भने निर्णय नभइसके पनि ‘कलम’ हुन सक्ने बताइएको छ ।
यस्तै, यसअघि जसपा (लोकतान्त्रिक) नाममा दल दर्ता गर्न निर्वाचन आयोगमा पत्र बुझाएको भए पनि आफूहरूले दलको नाम ‘लोकतान्त्रिक समाजवादी’ पार्टी प्रस्ताव गरेको सो दल प्रस्तावका लागि आयोग पुगेका नेता केशव झाले जानकारी दिए ।
यसअघि प्रस्ताव गरिएको केन्द्रीय कार्यकारिणी समिति पनि २४ बाट बढाएर ३१ पु-याइएको उनले जानकारी दिए । यसैगरी, वरिष्ठ नेतामा यसअघि राजेन्द्र महतोको नाम मात्र प्रस्ताव गरिएकोमा शरतसिंह भण्डारीलाई पनि वरिष्ठ नेताका लागि प्रस्ताव गरिएको उनले जनाएका छन् ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा भएको संशोधनअनुसार निर्वाचन आयोगले बिहीबार नै नियमावलीमासमेत संशोधन गरिसकेको छ । नियमावली संशोधन भएपछि आयोगले दल दर्ताका लागि नयाँ निवेदन मागेको हो । राजधानी दैनिकबाट