अछाम, जेठ २५: माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको सम्पर्क कार्यालयलाई लक्षित गरेर शनिबार अज्ञात समूहले प्रेसर कुकर बम विस्फोट गराएको छ ।
तुर्माखाँद गाउँपालिका–३ असराघाट निबासी दीपक बिसीको घरमा भाडामा रहेको कार्यालयलाई लक्षित गरी बिहान साढे ४ बजेतिर बम विस्फोट गराउँदा कार्यालय रहेकाे घरमा क्षति भएको छ ।
साथै त्यहाँ रहेकाे भे.७ प.९६९८ नम्बरको मोटरसाइकलमा आगजनी गर्नुका साथै शौचालयमा प्रेसर कुकर बम विस्फोटबाट शाैचालल पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।
जिप्रका अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शाहीको नेतृत्वमा सदरमुकाम मंगलसैनबाट र भैरवस्थान अछामबाट प्रहरी सहायक निरीक्षक दिर्घनाथ योगीको कमाण्डमा टोली घट्नास्थल पुगेको थियो । बिसीको ३ तले घरको तल्लो तलामा एक हजार पाँच सयका दरले भाडा दिने गरी माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको सम्पर्क कार्यालय रहेकाे थियाे ।
अज्ञात समुहको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक जगत गाहा मगरको कमाण्डमा १५ जना र मातहत इलाका प्रहरी कमलबजार, विनायक, प्रहरी चौकी भैरबस्थान, अस्थाई प्रहरी पोष्ट तुर्माखाँद, बेलखेत प्रहरी पोष्टबाट २५ जनाको प्रहरी टोली तुर्माखाँद गाउँपालिकामा परिचालन गरिएको शाहीले बताए ।
घटनास्थलदेखि ३ कि.मी.पूर्व कर्णाली नदी पारी दैलेखको आठविस नगरपालिका वडा नं.१ डावमा अपर कर्णाली हाईड्रोपावरको कार्यालय रहेको छ । यसअघि विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले विभिन्न जलविद्युत् आयोजनामा बम विस्फोट गराएकाले यहाँ पनि विप्लव समूहले नै विस्फोट गराएको हुनसक्ने आशंका गरिएको छ । उक्त क्षेत्रमा प्रहरीले सुरक्षा व्यवस्था कडा पार्न सुरू गरेकाे छ ।