मातृवियोगमाथि कलिलो काँधमा विपन्नताको भारी !

रिपोर्ट नेपाल | 2023 Aug 31 | 06:29 pm 2233

टोपलाल अर्याल

गुल्मी, भदाै १४  घरको ढोकामा टुक्रुक्क बसेका नौ वर्षीय सागर नेपाली आमा गुमाएको पीडाले बेचैन थिए। घामले डढेको शरीरमा आधा बेरिएको सेतो बस्त्र, जसले देख्नेको पनि मन भतभती पोल्थ्यो।

सागरले रोग कारण आमा गुमाए नै। त्यसमाथि संस्कारको सेतो बस्त्रका कारण बाल्यकालको स्वतन्त्रता पनि गुमाए। नौ वर्षीय बालकको काँधमा १३ दिने कठिन काजकिरिया। उनी आफ्नै विवेकले चल्ने वेला मातृवियोगको पीडामाथि संस्कारको बोझ बोकिरहेका छन्। त्यसमाथि काँधमा विपन्नताको बोझिलो भारी।

गत ५ भदौमा आमा लक्ष्मी नेपालीको मिर्गौला फेल भएर ज्यान गएपछि सागर काजकिरियामा छन्। बुबा कृष्ण नेपाली बेपत्ता भएको तीन वर्ष भयमे। ११ वर्षीय दाजु हिमालले पाँच दिनपछि किरियाको लुगा फुकाले । तर, नौ वर्षीया सागरले अहिलेसम्म किरिया कर्म गरिरहेका छन् ।

१७ वर्षीया दिदी मनीषाले भाइहरूको मन सम्झाइबुझाई गरिरहेकी छिन्।

किरिया उमेर पुगेकालाई पनि निकै कष्ट छ। त्यसैमा बालबालिकालाई मुस्किल नहुने कुरै भएन। अभिभावकविहीन गुल्मीको धुर्कोट गाउँपालिका– १ नयाँगाउँका तीन बालबालिकाको बिचल्ली भएको छ।

बाबाआमा नहुनुको पीडामाथि बालबालिकाले काजकिरियाको ठूलो बोझ बोक्नुपरेको ठूलीआमा सावित्रा नेपालीले गुनासो गरिन्।

‘ठूलो छोरा हिमालले सकेन, पाँच दिनमै कुनाबाट निस्कियो। सानो छोरा सागरले आमाको पूरै दिन किरिया गर्छु भनेर बसिरहेको छ,’ उनले भनिन्, ‘बाबुआमाको काख चाहिने बाबुले किरिया थेगिरहेको छ।’

नेपाली परिवार केही वर्षसम्म तम्घास बजारमा मजदुरी गरेर बस्याे। बजारबाटै श्रीमान् कृष्ण नेपाली बेपत्ता भएपछि लक्ष्मीले विभिन्न काम गरेर तीन सन्तानको भरथेग गरिन्। उनको सोही वेला एउटा मिर्गौला फेल भयो । उपचारमै नाककानका गहना बेचिन्। पत्याउनेसम्मको ऋण पनि खोजिन्। तर, केही समय रोग निको भए पनि पछिल्लो समय बल्झियो । उपचार गर्ने उपाय भएन।

आमाको उपचारका लागि छोरी मनीषाले बुटवलमा बाल मजदुरका रूपमा काम पनि गरिन् । तर, लक्ष्मीको उपचारका लागि आवश्यक पैसा जुट्न सकेन। केही दिनअघि उनकाे ज्यान गएपछि अहिले तीन बालबालिकाको बिचल्ली भएको छ।

पैसा नभएकै कारण आमाको ज्यान गएको बताउँदै किरिया खर्चसमेत आफूहरूसँग नहुँदा पीडामाथि पीडा थपिएको मनीषाले गुनासो गरिन्।

‘बाउले छोडे। आमालाई पनि बचाउन सकिएन, भाइहरूको बिजोक छ,’ उनले भनिन्, ‘दुःख देखेर सहयोग गर्नेहरूकाे पैसाले किरिया कर्म चलिरहेको छ। नेपाली परिवारको गाउँमा रुखो बारी र कच्ची ओतबाहेक केहि छैन।’

मनीषाले पाँचसम्म पढेर पढाइ छोडिन्। उनका  भाइहरूको पढाइ पनि नियमित छैन। खाने कि पढ्ने–पढाउने भन्ने चिन्ताले मनीषालाई पोल्न थालेको आठ–नौ वर्षबाटै हो। जसका कारण बाल्यकालकै घरेलु कामदारको रूपमा काम गर्न बाध्य बनिन् । उनले भाइहरूसँग सीप र अर्थोपाजन गर्ने उपाय खोजिरहेकी छिन्।

धुर्कोट गाउँपालिका– १ का वडाध्यक्ष चेतमान कुँवरले साना बालबालिकाको बिचल्ली भएकाले संरक्षण लागि पहल गर्न विभिन्न संघसंस्थासँग आग्रह गरिरहेका छन्।

स्थानीय तहको तर्फबाट र स्थानीयहरूबाट किरियाका लागि केही खर्चको जोहो भए पनि भोलिको भविष्यका लागि सबैले सहयोग गर्नुपर्ने कुँवरले बताए।  – नयाँ पत्रिकाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.