महिला भलिबल खेलाडीलाई जनही पाँच लाख दिने सरकारको निर्णय

| 2021 Dec 30 | 07:29 am 2137

काठमाडौँ, पुस १४ः बंगलादेशको ढाकामा मंगलबार सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फ च्याम्पियन नेपाली टोलीका खेलाडीलाई सरकारले जनही पाँच लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले टोलीका १२ जना खेलाडीलाई जनही पाँच लाख, दुई जना प्रशिक्षकलाई तीन तीन लाख र अफिसियललाई दुई लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरिएको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले जानकारी दिए । ‘महिला भलिबल खेलाडीले लगातार दोस्रो पटक उपाधि हासिल गरी राष्ट्रको प्रतिष्ठा बढाएकोले सरकारले नगद पुरस्कारबाट सम्मान गर्न लागेको हो,’ मन्त्री गहतराजले भने ।

नेपालले मंगलबार भएको फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै उपाधि जितेको थियो । नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । नेपाली महिला टोलीले यसअघि सन् २०१९ मा बंगलादेशमै भएको च्याम्पियनसिपमा लिग चरणदेखि एक सेट पनि नगुमाई उपाधि जितेको थियो । नेपाली टोली बिहीबार स्वदेश फर्कने नेपाल भलिबल संघले जनाएको छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.