महिला प्रहरीलाई याैन दुर्व्यवहार गरेको आरोप लागेका एसएसपीलाई प्रधान कार्यालयले सोध्यो स्पष्टीकरण

| 2023 Sep 29 | 04:49 pm 4889

काठमाडौं, असोज १२ ।  महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका एसएसपी योगबहादुर पाललाई छानविन समितिले याैनहिंसा गरेको निष्कर्ष निकाले पछि  प्रहरी प्रधान कार्यालयले स्पष्टीकरण सोधेको छ।

डीआईजी सुरेन्द्र मैनाली नेतृत्वको छानबिन समितिले एसएसपी पालले यौनहिंसा गरेको निष्कर्ष  सहितको प्रतिवेदन पेस गरेपछि त्यसबारे एसएसपी पाललाई स्पष्टीकरण सोधिएको हो। प्रतिवेदन भदाैको तेस्रो साता बुझाइएको थियो ।

प्रहरी नियमावली २०७१ को दफा ११५ मा सजायको आदेश दिनुपूर्व स्पष्टीकरण सोध्नुपर्ने व्यवस्था अनुसार एसएसपी पाललाई स्पष्टीकरण सोधिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कानुन शाखाले प्रतिवेदन अध्ययन गरिसकेपछि कारबाही प्रक्रियाका लागि स्पष्टीकरण सोधिएको हो। छानबिन समितिले प्रहरी आचारसंहिता तथा प्रहरी नियमावली विपरीतको काम गरेको, आफ्नै सहकर्मी महिलालाई यौनहिंसा गरेको पुष्टि भएको कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बिदामा घर जान लागेकी सहायक हवल्दारलाई एसएसपी पालले ‘तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे’ मनाउनुपर्छ भन्दै दुर्व्यवहार गरेको भन्दै सुदूरपश्चिम प्रदेश कार्यालयमा उजुरी परेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.