महिला कामदारलार्इ नक्‍कली इजाजत दिने २५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा (नामसहित)

| 2018 Oct 27 | 07:39 am 2065

काठमाडौं, कार्तिक १०: तस्करी गिरोहसँग मिलेर अवैध रूपमा श्रम स्वीकृति दिने वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका २५ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात अधिकृतसहित २५ कर्मचारी र दुई बिचौलियाविरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आर्थिक चलखेलका आधारमा कुबेतमा नेपाली महिला तस्करी गर्ने गिरोहलाई सघाएको आयोगको अनुसन्धानमा खुलेको छ। कतिसम्म भने भिसा नै नभएका व्यक्तिलाई समेत उनीहरूले श्रम स्वीकृति दिएका थिए। त्यस्तै, भिसा रद्द भएका, भिसाको अवधि सकिएका तथा अन्य न्यूनतम कागजपत्र नै नभएका व्यक्तिहरूलाई श्रम स्वीकृति दिइएको थियो। दुई महिनाको अवधिमा उनीहरूले एक सय ८४ जनालाई अवैध रूपमा श्रम स्वीकृति दिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए।

आयोगले सात अधिकृत र १४ नासुलगायत कर्मचारीलाई प्रतिवादी बनाएको छ। मुद्दा दायर गरिएका अधिकृतहरूमा हरिप्रसाद देवकोटा, दीपककुमार आचार्य, गणेशविक्रम शाह, दिनेशकुमार राई, पवित्रा श्रेष्ठ र रामप्रसाद ओली छन्। त्यस्तै, नायब सुब्बाहरू अमरराज जोशी, विष्णुहरि निरौला, दिलबहादुर खत्री, हेमराज पाण्डे, कर्णबहादुर नेपाली, केदार घिमिरे, मदन गिरीविरुद्ध आयोगले मुद्दा दर्ता गरेको छ। खगेन्द्र पोखरेल, लक्ष्मीदेवी भुसाल, नगेन्द्रप्रसाद गौतम, रवीन्द्र घिमिरे, रघुनाथ केसी, योगेन्द्र खत्री, केशवराज ढुंगानाविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ।

कम्प्युटर अपरेटरहरू अमर महरा, चक्रबहादुर पराजुली, डम्बरबहादुर विश्वकर्मा, धनवीरसिंह भाट, राजकुमार शाहीविरुद्ध मुद्दा दायर भएको आयोगका सहायक प्रवक्ता कोइरालाले जानकारी दिए । अन्य चार कर्मचारीको नाम भने आयोगले सार्वजनिक गरेको छैन। बिचौलियाहरू राजीवकुमार पञ्जियार र विकास थापालाई पनि मतियारको रूपमा मुद्दा दायर भएको छ।

केही पीडित महिलाले विभागका कर्मचारीको अनियमितताबारे गत वर्ष आयोगमा उजुरी गरेका थिए । प्रारम्भिक अनुसन्धानमा बदमासी खुलेपछि आयोगले ताहाचलस्थित कार्यालयबाट जारी श्रम स्वीकृतिको विवरण अध्ययन गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.