काठमाडौं, असोज २०ः एक महिलालाई बन्धक बनाई हत्या गरी फरार रहेका अभियुक्तलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ११ बडेगाउँ घर भई हाल हेटौडा उपमहानगरपालिका १४ नयाँबस्ती गैरीटोल बस्ने ३५ वर्षीय बिनय श्रेष्ठ, बिनय माझी भन्ने सोम बहादुर राई रहेका छन् ।
उनले २०७६ जेठ ५ गते काठमाडौं कागेश्वरी मनहरा नगरपालिका ९ गोठाटारमा रहेको रमेश श्रेष्ठको अस्थायी टहरामा सिन्धुपाल्चोक कर्थली ३ स्थायी घर भई जोरपाटी नयाँबस्ती बस्ने ३६ वर्षीया पम्फा श्रेष्ठलाई बन्धक बनाई हत्या गरी फरार रहेका थिए ।
अनुसन्धानका क्रममा अभियुक्तले मुतक श्रेष्ठलाई विभिन्न बहान गरी डेराकोठामा लगी २०७६ बैशाख ३० गते देखि जबरजस्ती बन्धक बनाई राखी कर्तव्य गरी कोठा बाहीरबाट ताला लगाई फरार भएका थिए ।
२०७६ जेठ ५ गते स्थानीय व्यक्तिहरुले प्रहरीलाई खबर गरेकोमा अनुसन्धान टोलीले ताला फोडी हेर्दा मृत अवस्थामा खाटमा फेला परेको थियो ।
अभियुक्त बिनय माझिले सोम बहादुर राईको नामबाट जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट नागरिकता निकालेको पाइएकोले त्यसैको आधारमा अनुसन्धान गरिएको थियो ।
अनुसन्धानकै क्रममा महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको टोलीले हिजो सोमबार हेटौडा उपमहानगरपालिका १४ नयाँबस्तीबाट पक्राउ गरेको महाशाखाले जानकारी दिएको हो ।
पक्राउ परेका अभियुक्तलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको बताइएको छ ।