महिलालाई जागिर सुन्दरता की क्षमता ?

| 2018 Aug 03 | 09:12 am 2572

काठमाडौं- स्वभावतः पुरुषको तुलनामा धेरै महिलाहरु उद्यमी बन्न भन्दा पनि जागिर खान आकर्षित हुन्छन । छोरा सरह छोरीलाई पनि पढाउन थालिएपछि महिलाहरुको जागिर मोह बढ्न थालेको हो। त्यसका पछि केही कारणहरु छन। जसमा महिलाहरुको शारीरिक, सामाजिक, पारीवारिक तथा मनोवैज्ञानिक कारणले महत्वपूर्ण भूमिका खेल्दछ।

कतिपय जागिर यस्ता हुन्छन्, जो पुरुषलाई भन्दा महिलाका लागि बढी उपयुक्त मानिन्छन्। त्यसैले त्यस्ता जागिरमा महिला अनिवार्यजस्तै भएको छ। बिरामी भएर कुनै अस्पताल पुग्नुभयो भने त्यहाँ केयर गर्ने नर्स महिलाहरू नै हुन्छन् । प्लेनमा यात्रा गर्दै हुनुहुन्छ भने ढोकामा स्वागत गर्नेदेखि आवश्यक पर्ने सरसहयोग गर्ने एअर होस्टेस पनि महिला नै हुन्छन् । चाइल्ड केयरिङ तथा मन्टेश्वरीजस्ता क्षेत्रमा पनि महिलाहरूले प्रदान गर्ने सेवा नै बढी रुचाइन्छ। कतै कुनै संस्था, होटेल, विद्यालय तथा अन्य निकायको फ्रन्ट डेस्क हेर्न मान्छे आवश्यक परेमा पनि महिला नै प्राथमिकतामा पर्ने गर्छन। ब्युटिसियन र फेसन डिजाइनरमा त महिलाहरु हुने नै भए।

दिनानुदिन परिवर्तन हुँदै गएको समाजमा महिलाले गर्न नसक्ने भनेर तोकिएका कतिपय महिलाले ती काम गरेर चुनौती दिइरहेका छन् भने केही त्यस्ता काम अहिले पनि छन् जुन काम पुरुषबाट हुनै सक्दैन वा भए पनि प्रभावकारी मानिँदैन । विशेषगरी ग्राहकसँग प्रत्यक्ष वा नजिक भएर सेवा गरिने क्षेत्र जस्तैः नर्सिङ, एयर होस्टेस, मन्टेश्वरी शिक्षक, रिसेप्सनिस्ट आदि पेसामा सेवाग्राहीले महिलालाई नै रुचाउने हुनाले यस्ता क्षेत्रमा महिलाहरू नै संलग्न छन्।

रिसेप्सनिष्ट

सानादेखि ठूला कार्यालयका फ्रन्ट डेस्कमा पनि आकर्षक पहिरनमा महिलाहरू नै देखिन्छन् । महिलाहरू आकर्षक देखिने हुँदा पनि फ्रन्ट डेस्क तथा कस्टमरलाई प्रत्यक्ष सेवा प्रदान गरिने ठाउँमा उनीहरूलाई रुचाइने मान्यता छ । रिसेप्सनिष्टका लागि खुलाइएको जागिरमा युवतीको माग गरिएको हुन्छ। जुन युवती सुन्दर र मिठो बोली नै प्राथमिक योग्यता हुन जान्छ।
किनभने कुनैपनि व्यक्तिले कुनै कम्पनीसँग सम्पर्क गर्दा पहिलोपटक रिसेप्सनसँग फोनमा वा भेटेर कुरा गर्छ। त्यसैले रिसेप्सनमा काम गर्ने कर्मचारी हेर्दा आकर्षक र मिठो बोली, भद्र स्वभाव तथा हँसिलो अनुहार भएको हुनुपर्छ । रिसेप्सनिस्टको व्यवहारबाट कम्पनीका सम्बन्धमा आगन्तुकले आफ्नो धारणा तय गर्दछन्।

नर्सिङ

महिलाका लागि रोजगारीको राम्रो अवसर भएको क्षेत्र हो नर्सिङ। पछिल्लो समय नर्सिङमा महिलाको व्यापक आकर्षण देख्न सकिन्छ। संसारभर नै नर्सिङ पेसा महिलाहरुको पेवा जस्तै बन्न थालेको छ। नर्सिङ अत्यत्नै संवेदनशील पेशा हो। यो पेशा अंगाल्ने व्यक्तिले जुनसुकै प्रकारका बिरामीहरुको हेरविचार गर्नुपर्ने हुन्छ। पुरुषको तुलनामा महिलाहरु भद्र, नम्र, शहनशील र दयालु हुन्छन, त्यसैले हरेक अस्पतालमा नर्स महिला मात्रै हुन्छन्।

जसरी बाबाको भन्दा आमाको स्याहार-सुसारलाई मानिसहरूले प्यारो मान्छन, त्यसैगरी यो क्षेत्रमा पनि मेलको भन्दा फिमेलको सेवालाई बिरामीहरूले बढी रुचाउँछन्। महिला, पुरुष, बालबालिका एवं वृद्धवृद्धा सबै उमेर समूहका बिरामीले फिमेल नर्सलाई बढी मनपराउने गर्छन।

यो क्षेत्रमा पुरुष नभएका होइनन् तर तिनको संख्या नगण्य छ । नेपाल नर्स काउन्सिलका अनुसार देशभर जम्मा १८ हजार २ सय २० नर्स कार्यरतमध्ये पुरुषको संख्या औंलामा गन्न सकिने मात्र छ।

एयर होस्टेस

एयर होस्टेसको जागिर महिलाका लागि अर्को आकर्षक क्षेत्र बनेको छ। हरेक एयरलाइन्समा एयरहोस्टस हुन्छन् । एयर होस्टेसमा जागिरे युवती आकर्षक हुनुपर्छ । आकर्षक रुपले मात्रै पनि एयरहोस्टेसको जागिर खान सुमधुर बोली, शालिन स्वभाव र हँसिलो मुहार उत्तिकै महत्वपूर्ण हुन्छ । किनभने एयरहोस्टेसले यात्रा अवधिभर यात्रुहरुको रेखदेख गर्ने र उनीहरुलाई एयरलाइन्स कम्पनीको तर्फबाट गराउनु पर्ने जानकारी दिनुपर्छ।

यो जागिरमा पुरुषहरु पनि हुन्छन्। महिलालाई एयर होस्टेज भनेजस्तै पुरुषलाई क्याविन कु्र भनिन्छ। तर, यो जागिरका लागि पुरुषले भन्दा महिलाले बढी प्राथमिकता पाउँछन । एयरहोस्टेजको जागिर खाने महिलासँग अंग्रेजी भाषा अनिवार्य नै मानिन्छ। त्यसबाहेक अरु विभिन्न किसिमका भाषाको ज्ञानले उनीहरुको क्षमतामा वृद्धि गर्दछ।

ब्यूटिसियन

व्यूटिसियन महिलाको पर्याय नै हो। अधिकांस महिलाहरु आफ्नो सौन्दर्यतामा विषेश ख्याल राख्छन्। ब्युटिफुल अर्थात् सुन्दरी देखिनका लागि धेरै महिलाहरु ब्युटिपार्लर धाउँछन्। त्यहाँ उनीहरुले राम्रै रकम खर्च गर्छन्। अरुलाई राम्रो देखाउने जागिर खाने महिलाहरु स्वभावतः सुन्दर हुनुपर्छ।

डिजाइनर

डिजाइनर महिलाहरुका लागि अर्को रोजगारीको अवसर भएको क्षेत्र हो । महिलाहरु सौन्दर्य र फेसनमा बढी सोखिन हुने भएकाले डिजाइनर महिलाका लागि निकै आकर्षक जागिर हो। राम्रो डिजाइन गर्न सक्ने महिलाले देश तथा विदेशमा राम्रो तलबसहितको जागिर पाउँछन् । यसका लागि अध्ययन वा तालिमको आवश्यकता पर्छ।

मन्टेश्वरी टिचर

मन्टेश्वरी टिचर महिलाहरुका लागि अर्को आकर्षक जागिर हो। दुधे बालबालिकाहरुलाई स्कुल पठाउने चलन बढेसँगै मन्टेश्वरी टिचरका लागि जागिरको माग बढ्दो अबस्थामा छ। महिलाहरु कोमल हुने भएकाले, उनीहरुले मात्र बालबच्चाको राम्रोसँग केयर गर्न र फकाउन सक्ने भएकाले मन्टेश्वरी टिचरमा प्राय महिलाहरु मात्रै राखिन्छ। यो जागिर खान चाहनेसँग बाल मनोविज्ञान बुझ्न सक्ने क्षमता र बालबच्चाको केयर गर्नसक्ने हुनुपर्छ।

सुन्दरताको प्रयोग पो हो कि?

महिलाहरु आफैंमा सुन्दरताका प्रतिक हुन्। सुन्दरताप्रति जो कसैको पनि आकषर्ण हुनु स्वभाविक हो। सामान्यतया नर्सिङ तथा चाइल्ड केयरिङमा अरूको भावना बुझ्न सक्ने स्वभाव प्रमुख आवश्यकता भए पनि ती क्षेत्रमा काम गर्ने महिलामा आकर्षणसमेत खोजिन्छ। एअर होस्टेज पेसामा त प्रमुख विशेषता नै सुन्दरता हो। कुनै महिला जतिसुकै बुद्धिमान् भए पनि गुड लुक्स छैन भने एअर होस्टेजमा उनको स्कोप न्यून हुने बताउँछिन्, पुतलिसडकस्थित फ्लाइटेक इन्सिच्यूटमा एयरहोस्टेसको तालिम लिइरहेकी शर्मिला खड्का। यो क्षेत्रमा सफ्ट तथा पोलाइटनेस पनि आवश्यक भएको उनको बुझाइ छ।

महिला अधिकारकर्मीहरू भने सेवा प्रदान गरिने क्षेत्रमा महिलालाई नै रुचाइनु परम्परागत सोच भएको टिप्पणी गर्छन्। लेखक ऋचा लुँइटेल विशेषगरी सर्भ गर्ने, स्याहारसुसार गर्ने तथा अतिथिको सम्मान महिलाले गर्न सक्छन् भन्ने मान्यताले यस्ता क्षेत्र महिलालाई सुहाएको जस्तो लाग्ने बानी परेको बताउँछिन्। उनी भन्छिन, ‘घरमा आएका पाहुनालाई चिया दिन छोरीहरूलाई नै अह्राइन्छ।

लुइँटेलको बुझाइमा एयर होस्टेज, होटल तथा कार्यालयका रिसेप्सनिस्टका रूपमा सुन्दर महिलाका लागि कम जोखिमयुक्त भएकाले पनि अभिभावकले यस्ता काममा छोरीहरूलाई हौस्याएका हुन सक्छन्। अहिले यो मान्यतामा परिवर्तन हुँदै गएकाले जहाजका होस्ट, रिसेप्सनिस्ट वा नर्सका रूपमा थुप्रै पुरुषलाई देख्न पाइन्छ भने महिला डाक्टर वा पाइलटको संख्या पनि प्रशस्तै छ।

आकर्षणभन्दा पनि विशेष क्षमता

मनोविद् करुणा कुवँरका अनुसार धेरैजसो सेवामूलक जबमा पुरुषको तुलनामा महिलालाई अवसर दिइने चलन नेपालमा मात्र होइन विश्वभर छ। पुरुषको तुलनामा महिलाहरू अरुको भावना बुझ्न सक्ने स्वभावका हुन्छन्। महिलाको दायाँ दिमाग चल्ने भएकाले उनीहरूमा अरूको विचार र सेन्टिमेन्ट बुझ्न सक्ने विशेष क्षमता हुन्छ। दायाँ दिमाग, भावना र इमोसनसँग सम्बन्धित हुन्छ।
त्यसैलेपनि जति सेवामूलक काम छन, तिनमा महिलाहरूलाई बढी रुचाइन्छ। नर्सको सन्दर्भमा उनीहरूले बिरामीको भावना तथा पीडा महसुस गर्न सक्नुपर्छ र यो काम महिलाले नै गर्न सक्छन।

एअर होस्टेजको सन्दर्भमा पनि महिलाहरूले यात्रुको मर्का बुझ्न सक्ने भएकाले यो पेसामा पनि महिलालाई नै प्राथमिकता दिइन्छ। यस्तै चाइल्ड केयरिङमा पनि महिलालाई राखिनुको कारण, बालबालिका तथा महिला दुवैको दायाँ दिमाग बढी सक्रिय हुने हुँदा बालबालिका तथा महिलाको भावना, स्वभाव एवं रुचि मिल्छ । यसैकारण हामी घरका बालबालिकाहरू बुवासँग भन्दा आमासँग बढी झुम्मिएको देख्छौं।

आकर्षणका कारण महिलालाई यी क्षेत्रमा रुचाइएको हुनसक्ने कुरालाई साइकोलोजीले प्रमुख कारण मान्दैन। मुख्य कुरा सेवाग्राहीको भावनालाई बुझेर उनीहरूलाई प्रभावकारी सेवा दिन सक्ने काम महिलाबाट हुन्छ। यसमा आकर्षणको कुरा गौण हुन्छ किनभने जसरी पुरुषका लागि महिला आकर्षक हुन्छन, त्यसैगरी महिलाका लागि पुरुष आकर्षक हुन्छन्। बिरामी भएर अस्पताल जाने, प्लेनमा यात्रा गर्ने मानिस पुरुष मात्र हुँदैनन्। आकर्षणकै मात्र कुरा हो भने महिला सेवाग्राहीका लागि सेवा प्रदान गर्ने व्यक्ति पुरुष नै हुनुपर्ने हो।

कुनै विज्ञापन तथा बजारीकरणका सामग्रीमा जब महिलालाई प्रंयोग गरिन्छ, त्यसमा भने महिलाको सुन्दरता र आकर्षणले नै प्राथमिक भूमिका खेल्ने करुणाको धारणा छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.