महिलामा श्रमशोषण : घाम पानीको पर्वाह नगरी दिनभरि कडा श्रम, बेलुका १५० पारिश्रमिक

रिपोर्ट नेपाल | 2018 Jul 08 | 04:07 pm 3607

पर्सा, २४ असार : सरकारले दैनिक ज्यालादारीमा काम गर्ने मजदूरको न्यूनतम ज्याला रु ३९५ तोके पनि अर्थतन्त्रको मूल आधार मानिएको कृषि कर्र्यमा खटिने महिलालाई तोकिएभन्दा निकै कम ज्याला दिएर श्रम शोषण गरिएको पाइएको छ ।

मुलुककै मुख्य औद्योगिक र व्यापारिक नगर मानिएको वीरगञ्ज र आसपासका क्षेत्रमै कृषि कार्यमा खटिने महिलालाई अहिले पनि दिनको रु १५० मात्र ज्याला दिई श्रम शोषण हुँदै आएको हो । ज्यालादर कम भएका कारण पुरुषले खेतमा काम गर्न नमानेपछि जिल्लामा महिलाले नै सम्पूर्ण कृषि कार्य धान्दै अएका छन् ।

घाम पानीको पर्वाह नगरी दिनभरि कडा श्रम गरेपछि बेलुका खेतधनीले रु १५० दिने गरेको वीरगञ्ज अलौँ निवासी सरस्वती देवीले बताए। उनले परम्पराको बहानामा खेतमा काम गर्ने महिलालाई दिनभरि काम गरेबापत पाँच किलो धान वा रु १५० रुपैयाँमात्र दिँदा पनि यसमा कसैले चासो नदिएको गुनासो गरिन ।

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भई आए पनि महिला कामदारसँग भइरहेको विभेदबारे सबैले थाहापाएर पनि कुनै पहल नगरेको उनकोे भनाइ थियो ।  पहिलेदेखि नै चल्दै आएको चलनकै आधारमा खेतमा काम गर्ने महिलालाई पाँच किलो धान वा रु १५० ज्याला दिने चलन अहिले लगानीअनुसारको आम्दानी नभएको र श्रमको उचित मूल्यसमेत नभएको अलाैँ निवासी पारश साहले बताए ।

वीरगञ्जमै क्षेत्रीय श्रम कार्यालय भएपनि तोकिएको ज्यालादर कार्यान्वयन र अनुगमनको जिम्मेवारी पाएको सो कार्यालय यो बेथितिप्रति बेखबर छ । उक्त कार्यालयका अधिकारीहरु यस विषयमा अनुगमन नै हुन नसकेको बताए । मुलुकबाट बधुवा मजदूरी प्रथा अन्त्य भए पनि चलनचल्तीको बहानामा तराईका जिल्लामा भइरहेको श्रमशोषण अन्त्यका लागि राज्यले उचित भूमिका खेल्नुपर्ने जानकारहरुको भनाइ थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.