काठमाडौं, पुस ५ : गत शनिबारदेखि राजधानीमा संचालन भइरहेको नेपाली कांग्रेसको महासमिति बैठक आज बिहिबारदेखि पार्टी कार्यालय सानेपामा संचालन भइरहेको छ । नेतृत्वले समयमा विधान पेश गर्न नसक्दा महासमिति बैठक सदस्यहरुले चल्न नदिएपछि भोली शुक्रबारसम्मका लागि महासमिति बैठकको म्याद थप भएको छ । समय सिमा नथप्दासम्म आफ्नो स्तुती गाउने बाहेक अन्यलाई आफ्नो अभिव्यक्ति राख्न नदिने सोेच बनाएका नेतृत्वको व्यापक आलोचना भएपछि पछिल्लो समयमा केही प्रतिनिधिलाई बोल्न दिइएको छ । यसरी बोल्न दिनेमा नेपाली कांग्रेस गुल्मीका पूर्व सभापति त्रैलोक्यप्रताप सेन पनि परेका छन् । नेता सेनले महासमिति बैठकमा व्याङ्ग्यात्मक तरिकाले प्रस्तुत गरेको अभिव्यक्तिलाई सम्पादन गरी प्रस्तुत गरिएको छ ।
मैले पनि नेताहरुको उछितो काड्ने र विरोध गर्ने सोचेको थिए। त्यहाँबाट मञ्चमा आउँदा म भित्र एकदम विद्रोही भावना जागेको थियो। तर, म अब विरोध गर्दिन। किनभने म वीपी कोइरालाको चेला हुँ। उहाँले पञ्चायत कालको अन्त्यतीर भन्नुभएको थियो, पञ्चायती व्यवस्था आफ्नै अन्तरद्वन्दबाट समाप्त हुन्छ । म यो मरेको घोडालाई चाबुक लगाउन चाहान्न।
मैले पनि त्यही सम्झे। मैले हाम्रा नेताहरुलाई मरेको घोडासँग तुलना गर्न चाहेको होइन। तर, यथार्थ कुरा के हो भने, उहाँहरुको हृदयमा बसेको कांग्रेस मरेकै छ। त्यसैले महासमितिका आदरणीय साथीहरु नेपाली कांग्रेसमा वीपी कोइरालाको रगत, शहिदहरुको रगत कसले, किन, के–कति प्रलोभनका कारण प्रदुषित गरे ? त्यसलाई महासमितिले डिएनए टेस्ट गरेर खोज्नु परेको छ। डिएनए टेस्ट गरेर को–को दोषी भेटिन्छन् ? तिनीहरुलाई किनारा लगाउनुपर्छ अनि डायलोसिस मेसिनमा हालेर, सफाइ गरेर कांग्रेसको किड्नी जोगाउनुपर्छ।
विधानको सन्दर्भ आउला तर विधान मिच्नेहरुलाई के गर्ने ? यसमा बहस हुनुपर्छ। एउटा विशेष मेकानिज्म तयार हुनुपर्छ। जसले विधान मिच्ने शिर्ष नेताहरुलाई पनि दण्डित गर्न सकोस्।
नेताहरुलाई तुरुन्त विस्थापन गर्न आवश्यक छ। तर, यो तत्काल सम्भव छैन र महासमितिलाई अहिले त्यो अधिकार छैन र महाधिवेशन पर्खिनुपर्छ। महाधिवेशसम्म जसोतसो उहाँहरुलाई फकाएर काम लिनुपर्छ। आदरणीय नेताहरुलाई अनुरोध गर्छु तपाईंहरुका श्रीमति, साला, जेठान, भाइ, भतिजा, ढोके, बैठके सबैलाई गाडी, धन दलौत, बंगला दिनुस् तर कांग्रेस नदिनुस्। उनीहरुले कांग्रेसलाई बजारमा लगेर लिलाम गर्ने निश्चित छ ।
सभापतिलाई बलियो बनाउने कुरा मैले बुझ्न सकेको छैन। कस्तो बलियो बनाउने हो, सौराहाबाट हात्ति समातेर ल्याउने किसिमको बलियो हो की मैले बुझ्न सकेको छैन।