महासमिति बैठकको मिति तोक्न काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

| 2018 Aug 25 | 07:12 am 1584

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शनिबार बस्दैछ । पार्टीको महासमिति बैठकको तयारी र अन्य समिति गठन सम्बन्धमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्षनेताहरुबीच शुक्रबार दिनभर भएको छलफल र सहमतिपछि अहिले बिहान ११ बजे कार्यसमिति बैठक बस्न लागेको हो ।

पार्टीको कार्यसमिति बैठक बस्नुअघि नै महासमिति बैठकको तयारी तथा पार्टीका विभिन्न समितिको गठनका सम्बन्धमा शीर्षनेताहरुबीच सल्लाह र सहमति भएको बुझिएको छ । बैठक शुरु भएपछि उल्लेखित एजेण्डामा छलफल गर्दा बहस लम्बिन सक्ने भन्दै पहिले नै सोबारे सहमतिमा पुग्ने ठहरमा नेताहरु पुगेका थिए । विशेषगरी महासमिति बैठकको स्थान र मिति, कार्यसम्पादन तथा अनुशासन समिति गठनका सम्बन्धमा नेताहरुबीच छलफल भएको बताइन्छ । तथापि, केही विषयमा भने नेताहरुबीच सहमतिको टुङ्गो लाग्न बाँकी नै छ ।

गत वैशाख १६ गते सम्पन्न काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले यही भदौ महिनामा महासमितिको बैठक आयोजना गर्ने निर्णय गरेको थियो । उक्त बैठकले स्थानीय, प्रदेश तथा केन्द्रीय तहमा भएको राज्य पुनः संरचनाअनुसार पार्टीको पुनः संरचना गर्न पार्टीको विधानमा समयानुकूल परिमार्जनका लागि विधान संशोधन मस्यौदा समिति बनाउने निर्णय पनि गरेको थियो ।

सोही निर्णयअनुसार बिहीबार काँग्रेसले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । मस्यौदा समितिमा काँग्रेसका जिल्ला सभापतिहरुले पनि सहभागिता खोजेपछि शीर्षनेताहरुले त्यसलाई सम्बोधन गर्ने सम्बन्धमा पनि शुक्रबार नै छलफल गरेका छन् ।

गत असार पहिलो साता मकवानपुरको हेटौँडामा सम्पन्न काँग्रेसका जिल्ला सभापतिहरुको राष्टिय भेलामा शीर्षनेताहरुले मस्यौदा समितिमा जिल्ला सभापतिहरुको पनि सहभागिता हुने आश्वासन दिएका थिए । मस्यौदा समितिले विधान संशोधनका लागि गर्ने तयारीको समयावधिलाई ध्यान दिएर महासमिति बैठकको मिति तोक्ने र काठमाडौँ वा पोखरामध्ये एक स्थानमा महासमिति बैठक गर्ने सम्बन्ध छलफल भएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.