महासमितिका निर्णय कार्यान्वयनमा ढिला सुस्ती

रिपोर्ट नेपाल | 2019 Jan 08 | 03:31 pm 3091

कृष्णप्रसाद सापकाेटा

काठमाडौं । महासमितिको बैठक लगत्तै नेपाली कांग्रेसले गतिलिनेछ भन्ने जुन अनुमान गरिएको थियो त्यो अनुमान यतिबेला गलत सावित भएको छ । महासमितिको बैठक पुस ८ गते सम्पन्न भएको हो ।

पुस ९ गते देखि नै बैठकका निर्णय कार्यन्वयन प्रक्रिया सुरु हुनेछ भन्ने आशा कार्यकर्ता तथा शुभचिन्तकहरुले राखेका थिए । तर केन्द्रीय समितिको बैठक नै माघ १० गते देखि बस्ने गरी बोलाइएको छ ।

यो एक महिनाको ग्याप किन ? महासमितिको बैठक पछि तत्कालै केन्द्रीय समितिको बैठक बोलाएर निर्णय कार्यन्वयन प्रक्रिया किन सुरु गरिएन ? यो एक महिनाको ग्यापमा नेपाली कांग्रेसले के के काम गर्यो  भन्ने प्रश्नहरु स्वतः उत्पन्न हुन्छन् ।

माघ १० गतेदेखि बस्ने गरी केन्द्रीय समितिको बैठक पनि सभापति देउवाले स्वेच्छाले बोलाएका होइनन् भन्ने देखिन्छ । संस्थापन इतर पक्षले दबाव नदिएको भए बैठक बोलाउन सभापति देउवा तयार हुने थिएनन् भन्ने कुरा घटनाक्रमले पुष्टि गरेको छ ।

उदाहरणका लागि महासमितिको बैठक सकिएको करिव एक साता पछि वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्काल केन्द्रीय समितिको बैठक बोलाएर महासमिति बैठकका निर्णय कार्यान्वयन प्रक्रिया सुरु गर्न सभापति देउवालाई आग्रह गरेका थिए ।

उनको भनाई थियो– महासमितिको बैठकले पार्टी एक ढिक्का बनाएर लैजाने निर्णय त गर्यो तर यो निर्णय देउवाले कायन्वयन गर्छन भन्ने कुरामा मलाई अझै शंका छ, त्यसैले मैले तत्काल केन्द्रीय समितिको बैठक बोलाउन माग गरेको छु, एक साता जति कुर्दा पनि बैठक बोलाएनन् भने लिखत आग्रह नै गर्नेछु ।’

यसैगरी अर्का नेता कृष्णप्रसाद सिटौलाले पत्रकार सम्मेलन गर्दै यथाशिघ्र केन्द्रीय समितिको बैठक बोलाउनु पर्ने र संसोधित विधानको संक्रमणकालिन धारा तत्काल कार्यान्वयन गर्नुपर्ने बताए । वरिष्ठ नेता पौडेल र नेता सिटौलाले सार्वजनिक मञ्चबाट केन्द्रीय समितिको बैठक बोलाउनका लागि सभापति देउवालाई आग्रह गर्नु भनेको आँफैमा अप्ठेरो परिस्थिति हो ।

आन्तिरिक रुपमा गरिएको आग्रह नमानेको अवस्थामा वा मान्ने संभावना नरहेको अवस्थामा मात्रै यसरी सार्वजनिक आग्रह गरिन्छ । पौडेल र सिटौलाले गरेको यो सार्वजनिक आग्रहले महासमितिको बैठक पछि पनि कांग्रेस एक ढिक्का हुन नसकेको सन्देश गएको मात्रै छैन सभापति देउवाको कार्यशैली झन् संकीर्ण बन्दै गएको आशंका कार्यकर्तामा उत्पन्न भएको छ ।

नेपाली कांग्रेसको विधानमै वर्षको चार पटक केन्द्रीय समितिको बैठक बोलाउनु पर्ने प्रावधान छ । देउवा सभापति बनेको तीन वर्ष पुग्नै लागेको छ । यो अवधिमा कम्तिमा १२ पटक केन्द्रीय समितिको बैठक बसिसक्नु पर्ने थियो तर ८ पटक मात्रै बसेको छ । त्यसमा पनि निकै ठूलो दबाव सिर्जना भएपछि मात्रै देउवाले केन्द्रीय समितिको बैठक बोलाएको पाइन्छ ।

आपतकालिन परिस्थितिमा समेत केन्द्रीय समितिको बैठक बोलाउन देउवाले आन्कानी गरेको पाइन्छ । उदाहरणका लागि गत वर्षको मंसीरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसले करारी हार बेहाेर्नुपर्याे । यो हारको समीक्षाका लागि तत्काल केन्द्रीय समितिको बैठक बस्नु पर्ने थियो ।

एकातिर केन्द्रीय समितिको बैठक नबसेको पनि ४ महीना बितिसकेको थियो, अर्कातिर चुनावमा भएको पराजयको समीक्षा जरुरी थियो । तर देउवाले टार्दै लगे ८ महिनाको अन्तरालमा चैतमा मात्रै केन्द्रीय समितिको बैठक बस्यो ।

उक्त बैठकले गरेको महत्वपूर्ण निण{यमध्ये एक थियो– महासमितिको बैठक बोलाउने । तर महासमितिको बैठक बोलाउने निर्णय कार्यान्वयनका लागि पनि देउवालाई थप ८ महीना लाग्यो ।

पार्टी भित्र छलफल गरी समस्याको समाधान गर्ने भन्दा बैठक नै नबोलाई समस्यालाई थाति राख्ने काम देउवाबाट भइरहेको देखिन्छ । नेपाली कांग्रेस आज मुलुकको राष्ट्रिय राजनीतिमा जुन हालतमा गुज्रिरहेको छ त्यसमा धेरै जसो कमजोरी देउवाकै हो भन्ने टिकाटिप्पणी सुरु भएको छ ।

देउवाले यो कार्यशैली सुधार नगर्ने हो भने आगामी निर्वाचनमा पनि नेपाली कांग्रेसको हालतमा खासै ठूलो सुधार हुने लक्षण देखिँदैनन् । तर देउवाको कार्यशैलीमा सुधार हुने संकेत छैन । ‘कुकुरको पुच्छर १२ वर्ष ढुंग्रामा राखे पनि बाङ्गाको बाङ्गै’ भन्ने उखान देउवाको कायशैलीले चरितार्थ गरेको कांग्रेसका कार्यकर्ताहरु बताउँछन् ।

स्थानीय चुनाव आउन अब तीन वर्ष मात्रै बाँकी छ । पार्टीको महाधिबेशन त्यस अघि नै सम्पन्न गरिसक्नु पर्ने बाध्यता छ । समय ज्यादै थोरै छ । थोरै समयमा धेरै काम गर्नुपर्ने अवस्था छ तर सभापति देउवाको कार्यशैली झन झन सुस्त छ ।

उदाहरणका लागि महासमितिको बैठकद्धारा संसोधन गरिएको विधानका अधिकांश प्रावधानहरु आगामी महाधिबेशनको तयारीका क्रममा क्रियाशील हुन्छन् तर केही प्रावधानहरु भने तत्काल क्रियाशील गराउनु पर्ने अवस्था छ ।

खास गरी संविधान निर्माणका क्रममा राज्य पुनसंरचना गराउँदा जुन जुन भौगोलिक इकाइको संरचना तथा हेरफेर गरिएको छ ती भौगालिक इकाईहरुमा तत्काल पार्टीको संंगठन स्थापना गर्ने गरी विधानको संक्रमणकालिन प्रावधानमा व्यवस्था गरिएको छ ।

प्रदेश , प्रदेशसभा निर्वाचन क्षेत्र र पालिका गरी तीन वटा तहको नयाँ संरचना भएका छन् । यी इकाईहरुमा तत्काल संगठन निर्माणका लागि विधानमा संक्रमणकालिन व्यवस्था गरिएको छ ।

यसैगरी विगतमा २ सय ४० निर्वाचन क्षेत्र रहेकोमा अहिले १ सय ६५ कायम भएका छन् । नवलपरासी र रुकुमलाई टुक्रयाएर जिल्लाको संख्या ७७ पुर्याइएको छ । विगतका गाविसहरुलाई पालिकामा समायोजन गर्ने क्रममा वडा विभाजन गर्दा अधिकांशको सीमा हेरफेर गरिएको छ ।

सीमा हेरफेर गरिएका जिल्ला , निर्वाचन क्षेत्र र वडाहरुमा पनि संक्रमणकालिन व्यवस्था अन्तरगत तत्काल संगठन निर्माण गर्नुपर्ने प्रस्ताव महासमितिको बैठकले पारित गरेको छ । महासमिति बैठकले पारित गरेको संक्रमणकालिन व्यवस्था कार्यन्वनका लागि पहिलो खुड्किलो भनेकै केन्द्रीय समितिको बैठक हो ।

केन्द्रीय समितिको बैठक नबसी विधानको संक्रमणकालिन प्रावधान कार्यान्वयनका लागि बाटो खुल्ने अवस्था छैन । तर सभापति देउवाले केन्द्रीय समितिको बैठक नै ढिलो बोलाउँदा सबै काम थाति रहेका छन् ।

महासमितिको बैठकमै वरिष्ठ नेता पौडेलले लिखित रुपमा अनौपचारिक प्रस्ताव राख्दै कार्यतालिका प्रस्तुत गरेका थिए ।

महासमितिको बैठक सम्पन्न हुनासाथ केन्द्रीय समितिको बैठक बोलाएर पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको दिन देखि देशव्यापी रुपमा संगठन निर्माण अभियान सुरु गर्ने सुझाव पौडेलले राखेका थिए । तर सभापति देउवाले राष्ट्रिय मेलमिलाप दिवसमा ७७ वटै जिल्लामा कार्यक्रम गर्ने भन्दै सबै केन्द्रिय सदस्यहरुलाई जिल्ला खटाए । जसका कारण केन्द्रीय समितिको बैठक बोलाउन ढिलाई भयो ।

संसोधित विधानमा उल्लेखित संक्रमणकालिन व्यवस्था तत्काल कार्यन्वनका लागि संस्थापन इतर पक्षले दबाव सुरु गरे पनि सभापति देउवा भने हतार गर्ने पक्षमा छैनन् ।

संक्रमणकालिन व्यवस्था कार्यान्वयन तत्काल गर्ने हो भने १४ औं महाधिबेशनको मिति तोक्न दबाव आउने संभावना सभापति देउवाले देखेका छन् । सभापति देउवाको नियमित कार्यकाल अब १४ महिना मात्रै बाँकी छ । तर उनी एक वर्ष म्याद थप्ने अभियानमा छन् ।

संक्रमणकालिन प्रावधान तत्काल कार्यान्वयन गर्ने हो भने आफ्नो कार्यकाल एक वर्ष थप्ने अभियान सफल नहुने आशंका सभापति देउवालाई छ।

संस्थापन इतर पक्षले रिक्त रहेका इकाईहरुमा पुस महिना भित्र संक्रमणकालिन प्रवाधान अन्तर्गत संगठन निर्माण गरिसक्ने , २०७६ बैशाख भित्रमा सदस्यता वितरण तथा नविकरणको काम सम्पन्न गर्ने , असार भित्रमा पालिकाको वडा अधिबेशन सम्पन्न गर्ने , भदौभित्रमा पालिका , प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिबेशन सम्पन्न गर्ने , मंसीर भित्रमा जिल्ला तथा प्रदेश अधिबेशन सम्पन्न गर्ने र फागुनमा १४ औं महाधिबेशन सम्पन्न गर्ने भन्दै समय तालिका नै सार्वजनिक गरिसकेको छ ।

तर यो समयतालिका मान्न संस्थापन पक्ष तयार देखिएको छैन । नियमित मितिमा १४ औं महाधिबेशन गर्ने कुरा सुन्न समेत सभापति देउवा तयार छैनन् ।

देउवाको प्रश्न छ–‘विगतका सबै सभापतिहरुले आफ्नो कार्यकाल एक वर्ष लम्व्याउन हुने तर मैले किन नहुने ?’ देउवाको एक कार्यकाल एक वर्ष थपिँदा आफ्नो पनि थपिने भएकोले केन्द्रीय सदस्य तथा जिल्ला सभापतिहरु पनि नियमित मितिमा महाधिबेशन होस् भन्ने पक्षमा छैनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.