काठमाडौं, भदाै १७: गएकाे केही हप्तादेखि सिंगापुरमा उपचाररत प्रधानमन्त्री तथा सत्तारूढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपाका महासचिव विष्णु पौडेल मात्रै सिंगापुर प्रस्थान गरेका छन्।
पौडेलसँगै जान लागेका संगठन विभाग प्रमुख वामदेव गौतमको टिकट सोमबारै राति नै रद्द भएपछि महासचिव पौडेल एक्लै सिंगापुर उडेका हुन्। गौतमले टिकट पक्का गरेको केही घण्टामै रद्द भएपछि पौडेल एक्लै सिंगापुर गएका हुन्।
प्रम ओलीको मिर्गौलाको अन्तिम परीक्षण बुधबार हुने भएकाे छ। उनका पछिल्लो स्वास्थ्यअवस्था बुझ्न मंगलबार त्यसतर्फ महासचिव पाैडेल गएका हुन्।उनी दिउँसो १ बजे सिंगापुर प्रस्थान गरेका हुन्। पाैडेल सिंगापुरबाट प्रधानमन्त्री ओलीसँगै स्वदेश फर्किने बुझिएकाे छ।
मिर्गौलाको परीक्षण सकिएपछि प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किने कार्यक्रम तय गरिएको स्राेतले जानकारी दिए । यही भदौं ५ गते सिंगापुर गएका प्रधानमन्त्री ओलीले त्यहाँको नेशनल युनिभर्सिटी अस्पतालमा उपचार गराइरहेका छन्।