काठमाडाैं, असार २८ः कोरोना महामारीका कारण अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक हुँदा बैंकिङ क्षेत्रको नाफामा भने उल्लेख्य रूपले वृद्धि भएको छ।
चालु आर्थिक वर्षको ११ महिना (असार–जेठ) मा २७ वाणिज्य बैंकहरू ६२ अर्ब ३६ करोड रूपैयाँ खुद नाफा गर्न सफल भएका छन्। ती बैंकहरूले गत आर्थिक वर्ष ५४ अर्ब ३५ करोड सात लाख रूपैयाँ खुद नाफा कमाएका थिए। चालु आर्थिक वर्षको अन्तिम महिनाको रिपोर्ट आउन अझै बाँकी रहेकाले नाफामा केही वृद्धि हुने बैंकरहरूको अनुमान छ।
यस अवधिमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले नाफा वृद्धि गरेका छन् भने सातवटाले घटाएका छन्। गत वर्ष कोरोना महामारीका कारण औसतमा करिब १३ प्रतिशत लाभांश वितरण गरेका ती बैंकहरूले यसपटक औसतमा २० प्रतिशत हाराहारी लाभांश वितरण गर्ने सम्भावना देखिएको बैंकर बताउँछन्। कोरोना महामारीमा बैंकहरूले नाफा वृद्धि गर्नुलाई बैंकरहरूले पारदर्शीता र मेहनतको प्रतिफलको रूपमा बताउने गरेका छन्।
यता बैंकबाट कर्जा लिएका व्यवसायी भने बैंकहरूले अप्ठेरोको बेला पनि ऋणीलाई आवश्यकता भन्दा बढी पेलेर नाफा कमाएको आरोप लगाउँछन्। एक व्यवसायीले महामारीले कैयौं व्यवसायी पलायन भइरहेको बेला बैंकहरूले धमाधम नाफा गर्नु न्यायोचित नभएको गुनासो गरे। उनले भने, ‘तर यस्तो बेला बैंकहरूले नाफा गरे अनुसार व्यवसायीलाई छुट, सहुलियत दिन सकेका छैनन्।’
बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा बैंकहरूको नाफा बढ्नुमा पारदर्शिता मुख्य कारण रहेको बताउँछन्। ‘यतिखेर कतिपयलाई सबै क्षेत्र समस्यामा छन् भन्ने लाग्छ,’ उनले भने, ‘महामारीले सबै क्षेत्र समस्यामा छैनन्,’ उनले भने, ‘वास्तविकता चाहिँ थोरै क्षेत्रको अवस्था खराब भएको र अधिकांश कर्पोरेट सेक्टरले राम्रो गरेकाले हो।’ कर्पोरेट सेक्टरले राम्रो गरेका कारण नै बैंकले नाफा वृद्धि गरेको उनको भनाइ छ।
अर्थशास्त्री नरबहादुर थापा महामारीमा बैंकहरूले नाफा वृद्धि हुनुको कारण अन्तर्राष्ट्रिय व्यापार राम्रो हुनुलाई लिन्छन्। ‘साथै नेपाल राष्ट्र बैंकले लिएको नीति, रेमिटेन्स आप्रवाहमा वृद्धि तथा महामारीमा कतिपय व्यवसाय फस्टाउँदा बैंकहरू नाफा वृद्धि गर्न सफल भएका हुन्,’ उनले भने। नागरिक दैनिकबाट