राष्ट्रिय धान दिवसका अवसरमा हरेक वर्ष स्रष्टा सम्मान गर्दैै आएको नुवाकोट साहित्य प्रतिष्ठानले विभिन्न विधामा सिर्जना गर्दै आएका आठ स्रष्टालाई सम्मान गरेको छ । काठमाडौँका हिरण्यकुमारी पाठक र नरेन्द्रबहादुर श्रेष्ठ तथा इलामका गंगाप्रसाद अधिकारी ‘खोलाघरे साइँलो’लाई तथा ‘युगान्तर वर्ष पुरस्कार’ खोटाङका रक्ष राईलाई यस वर्षको ‘महामण्डल राष्ट्रिय साहित्य सम्मान’स्वरुप पुरस्कार रकम नगद पाँच हजार र प्रमाणपत्र प्रदान प्रदान गरिएको हो ।
त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहमा प्रथम हुने लक्ष्मी सुवेदीलाई २५ हजारसहित ‘नरेन्द्र वाङ्मय सम्मान’ दिइयो । ‘महामण्डल युवा साहित्य सम्मान’बाट मकवानपुरका कपिलदेव भट्टराई र दोलखाकी देवकी अभिलाषीलाई सम्मान गरियो । त्यस्तै ‘कमलादेवी गजुरेल तथा जगनिधि गजुरेल स्मृति साहित्य सम्मान’ दाङकी भवानी न्यौपानेलाई दिइयो । प्राडा माधव भट्टराईले ती सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।
यस्तै, कार्यक्रमा यस वर्षको माध्यमिक शिक्षा परीक्षामा नुवाकोटबाट उत्कृष्ट भएका विद्यार्थीलाई जनही रु पाँच हजारसहित अर्किड एकेडेमीका सार्थक शाक्य र अभिषा ढकाललाई पुरस्कृत गरिएकोे प्रतिष्ठानका अध्यक्ष रामकृष्ण गजुरेलले बताए । उनका अनुसार प्रतिष्ठानले हरेक वर्ष असार १५ मा स्रष्टा सम्मानका साथै दहीचिउरा खाने कार्यक्रम गर्दै आएको छ ।