काठमाडाैँ, पुस २९ : नेपाल विद्यार्थी संघले १२ औं महाधिवेशनको वातावरण बनाइदिन मातृ पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग माग गरेको छ।
पुस २८ देखि महाधिवेशन गर्ने कार्यतालिका जारी गरे पनि महाधिवेशन गर्न नसकेको नेविसंघले सभापति देउवालाई भेटेर कार्यसमितिको म्याद थप्दै महाधिवेशनको वातावरण मिलाइदिन आग्रह गरेको हो।
भंग हुन दुई दिन बाँकी हुँदा नेविसंघ महामन्त्री कुन्दनराज काफ्लेसहित नेता आइतबार बिहान सभापति देउवा निवास पुगेका थिए।
सभापति नैनसिंह महर नेतृत्वको कार्यसमितिको म्याद माघ २ गते सकिँदैछ। दुई वर्ष कार्यकाल भदौमा सकिए पनि महाधिवेशन गराउन पार्टीले ५ महिना समय दिएको थियो। संघीय संरचनामा गएको नेविसंघले अहिलेसम्म १६ जिल्ला अधिवेशन गरेको छ।
सातै प्रदेश र अधिकांश क्याम्पसमा अधिवेशन हुन सकेको छैन। पछिल्लो पटक थपेको दुई महिनामा देशैभर अधिवेशनको वातावरण बनेको र यसबीचमा भएका प्रगतिबारे नेविसंघले सभापति देउवालाई भेटेर जानकारी गराएको हो।