कञ्चनपुर , भदाै १२: शुक्रबार रातिदेखि लगातार परेको पानीपछि महाकाली नदीमा पानीको बहावका कारण पुलमा चार पाङ्ग्रे गाडीकाे आवत जावतमा राेक लागएकाे छ। चुरे क्षेत्रमा परेको भारी वर्षापछि महाकाली नदीमा पानीको बहाव बढेको हो ।
इलाका प्रहरी कार्यालय गड्डा चौकीले दिएकाे जानकारी अनुसार शनिबार दिउँसो २ बजेको मापनमा महाकाली नदीमा पानीको बहाव एक लाख ३४ हजार ८ सय क्यूसेक रहेको जनाए ।
नदीमा पानीको बहाव एक लाख नाघेपछि भारतीय पक्षले शारदा ब्यारेजमा चारपाङ्ग्रे गाडीको आवागमनमा रोक लगाएको हाे । सामान्यता पानीको बहाव एक लाख नाघेपछि पुलको सुरक्षाको कारण देखाउँदै भारतीय पक्षले चार पाङ्ग्रे गाडीको आवागमनमा रोक लगाउने गरेको छ ।
आवागमन बन्द भएपछि भारतबाट नेपाल आउँदै गरेका सवारीसाधन पुल पारि रोकिएका छन् । यस्तै, साइकल तथा पैदल यात्रीलाई भने आवतजावत गर्न दिइएको छ ।
यता, नदीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले भीमदत्त नगरपालिका–११, १२ तथा महाकाली नगरपालिकाको तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।