महन्त जगन्नाथ दासकाे नाममा रहेको सम्पूर्ण जग्गा बिक्री गर्न गुठी संस्थानकाे रोक

रिपोर्ट नेपाल | 2019 Sep 06 | 07:53 am 3525

काठमाडौं, भदाै २०: मन्दिरको जमिन बिक्री गरेको आरोपमा निलम्बनमा परेका महोत्तरीको लक्ष्मीनारायण मठ मटिहानीका महन्त जगन्नाथ दास वैष्णवको नाममा रहेको सम्पूर्ण जग्गाजमिन बिक्री गर्न गुठी संस्थानले रोक लगाएको छ।

गुठीमातहतको सरकारी जग्गा दुरुपयोग गरेको आरोप लागेपछि महन्तलाई निलम्बन गरेको संस्थानले थप जग्गा बिक्री गर्न नदिन १० जिल्लाका मालपोत तथा भूमि सुधार कार्यालयलाई पत्राचार गरेको छ। संस्थानका अध्यक्ष मीनराज चौधरीले भने, ‘महन्तका नाममा भएका मठमन्दिरका जमिन बिक्री गर्न रोक लगाएका छौं। सम्बन्धित मालपोत कार्यालयमा पत्राचार गरिसकेका छौं।’

सरकारी सम्पत्तिको थप दुरुपयोग नहोस् भनेर जमिन बिक्रीमा रोक लगाउनुपरेको चौधरीले बताए। ‘सरकारी सम्पत्तिको संरक्षण गर्नु हाम्रो दायित्व हो,’ चौधरीले भने, ‘गुठीको जमिन कहाँकहाँ बिक्री भएको छ भनेर अध्ययन गरिरहेका छौं।’ लक्ष्मीनारायण मठ मटिहानीअन्तर्गत महोत्तरी, धनुषा, रुपन्देही, सिरहा, बारा, पर्सा, रौतहट, सर्लाही र नवलपरासीमा जग्गा रहेकाले ती सबै जिल्लाका मालपोत कार्यालयलाई संस्थानले पत्राचार गरेको हो।

गुठी संस्थानका प्रशासक नारायण चौधरीले मालपोत कार्यालयमा पठाएको पत्रमा जगन्नाथले गुठीको जग्गा आफ्नो नाममा रैकरतर्फ दर्ता गरी व्यक्तिलाई बिक्री गरी गुठी सम्पत्ति लोप गरेको तथा पदअनुकूल अचारण नगरेको पाइएकाले जग्गा रोक्का गर्नुपर्ने बेहोराको पत्र पठाएको जानकारी दिए। जगन्नाथले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ६ स्थित गुठी जग्गा आफ्नो नाममा रैकरतर्फ दर्ता गरी व्यक्तिलाई बिक्री गरेका थिए।

‘गुठी जग्गा निजी रैकरमा दर्ता गरेर बिक्री गर्न लागेको भन्ने जानकारी प्राप्त भएकाले रामदास वैष्णवको नाति चेला, कौशलकिशोर दास वैष्णवको छोरा चेला जगन्नाथको नाममा रहेको जग्गा–सम्पत्ति अर्को पत्र प्राप्त नभएसम्मका लागि रोक्का गरी जानकारी पठाउनू’ संस्थानले मालपोतलाई पठाएको पत्रमा उल्लेख छ। नागरिक न्युज दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.