महको मूल्य बढ्दै, उत्पादन घट्दै

रिपोर्ट नेपाल | 2022 Jan 17 | 08:29 am 1965

जाजरकोट, माघ ३ः पकेट क्षेत्र मानिएको क्षेत्रमै यस वर्ष मह उत्पादन घटेको छ । सरकारले केही वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत मौरी जोन कार्यक्रम सञ्चालन गरेर किसानलाई अनुदान तथा प्राविधिक सहयोग गर्दै आएको छ तर मह उत्पादन भने घटेको छ । जाजरकोटमा गत वर्ष करिब १० टन मह उत्पादन भएकामा यस वर्ष एक टन मात्र उत्पादन भएको कृषि प्राविधिक तथा कृषि विकास कार्यालयका सूचना अधिकारी टोपेन्द्र नेपालीले बताए ।

नलगाड नगरपालिका–१, पालीका हरिबहादुर बुढाले गत वर्ष ८७५ किलोग्राम मह बिक्री गरी पाँच लाख रुपियाँभन्दा बढी आम्दानी गरेका थिए तर यसपालि मह उत्पादन घटेपछि उनी निराश भएका छन् । गत वर्ष ३०० केजीभन्दा बढी मह उत्पादन गर्ने सोही ठाउँका मनबहादुर रानाको ६० घारबाट यस वर्ष २० केजी पनि उत्पादन भएन ।

बुढा र राना जस्तै जिल्लाभर एक हजार १०० भन्दा बढी किसानको समस्या उस्तै छ । व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका किसान मह उत्पादन घटेपछि चिन्तित भएका छन् । गत असोज कात्तिक महिनामा धेरै पानी परेपछि चिउरी र अन्य फूलको रस बगाउँदा मह उत्पादन हुन नसकेको बताइएको छ ।

जिल्ला कृषि विकास कार्यालय जाजरकोटले फूल पर्याप्त नहुँदा उत्पादन घटेको जनाएको छ । मौरीलाई चरन क्षेत्रको अभाव, वनविनाश, अतिक्रमण, जलवायु परिवर्तनलगायतका कारण मह उत्पादन घट्दै गएको कार्यालयको भनाइ छ । सूचना अधिकारी नेपालीले बेमौसमी वर्षात्ले मौरी क्षेत्रका चिउरी र अन्य मौसमी फूलको रस वर्षाले बगाउनु, विभिन्न रोगले मौरी मर्नु, किसानलाई प्राविधिक ज्ञानको कमी हुनु, आहारा नपाएर मौरी भाग्नुलगायतका समस्याले मह उत्पादन घटेको बताए । मह उत्पादन घटेपछि मूल्य भने वृद्धि भएको छ । गत वर्ष प्रतिकेजी ६०० रुपियाँ मूल्य पर्ने मह यो वर्ष प्रतिकेजी एक हजार हाल्दा पनि नपाउने अवस्था छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.