महँगीको मार : एक किलो नुनको ७० रुपैयाँ

रिपोर्ट नेपाल | 2018 Dec 10 | 11:34 am 2089

हुम्ला, मंसिर २४: हुम्लाको एक गाउँपालिकाका स्थानीयवासीले महँगो मूल्य तिरेर आयोडिनयुक्त नुन खान बाध्य भएका छन् ।

सर्केगाड गाँउपालिकामा त्यहाँको डिपोले रु १० मा बिक्री वितरण गर्दै आएको भएता पनि यतिबेला उक्त डिपोमा नुनको अभाव भएको छ । सो गाउँपालिकामा रहेका आठवटै वडाका स्थानीयवासीले एक पोका नुनको ७० तिरेर खानु परेको उक्त गाउँपालिका–४ निवासी कृष्ण शाहीले बताए। जिल्ला सदरमुकाम सिमकोटबाट खच्चरद्वारा बोकेर ल्याएको नुनको मूल्य गाउँमा पुग्दा रु ७० तिरेर खानु परेको शाहीले बताए।

सर्केगाड डिपोमा नुनका लागि ठेकेदारले यतिबेला नुन पुर्‍याउन ढिलाइ गरेका कारण खाने नुनको समस्या भएको सोही गाउँ निवासी कवीन्द्र शाहीले बताउनुभयो । डिपोमा नुन नहुँदा व्यापारीले खच्चरमार्फत छिमेकी जिल्ला बाजुराबाट ल्याइएको नुन खरीद गरेर चर्को मूल्यमा किनेर खानुपरेको शाहीले बताए।

कसैले दुई दिनको पैदलयात्रा लगाएर जिल्ला सदरमुकाम सिमकोटबाट आफैँले बोकेर ल्याउने गरेका छन् । सिमकोट डिपोमा नुनको समस्या नभएता पनि सर्केगाड गाउँपालिकामा रहेको खाद्य डिपोमा यति बेला नुनको अभाव भएको छ ।

सर्केगाड गाउँपालिकालाई उपशाखा तोकिएता पनि त्यस क्षेत्रका सर्वसाधारण भने यतिबेला मर्कामा परिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.