काठमाडौं, असार २८ : मलेसियाविरुद्ध दुई खेलको टी–ट्वान्टी सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले सहज जित निकालेको छ । शनिबार क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।
मलेसियाले दिएको १२९ रनको विजयी लक्ष्य पछ्यको नेपालले १८.३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि कप्तान पारस खड्काले अर्धशतकीय पारी खेले । उनले ५० बल खेल्दै ८ चौका र ५ छक्काको प्रहार गर्दै ८६ रन बनाए । टी ट्वान्टी अन्तर्राष्ट्रिय९आई० खेलमा नेपालकोतर्फबाट पारस एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडी हुन् ।
त्यस्तै नेपालका शरद भेशवाकरले १६ रन जोडे, उप–कप्तान ज्ञानेन्द्र मल्लले ७ रन, प्रदीप ऐरी ८ र रोहित कुमार पौड्यलले ५ रनको जोडे ।
बलिङतर्फ मलेसियाका लागि अनुवर रहेमानले दुई विकेट लिँदा फिट्री सामले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२८ रन जोडेको थियो ।
उसका लागि ओपनर विरनदीपले सर्वाधिक ५७ रनको महत्वपूर्ण योगदान दिएर अर्धशतक प्रहार गरे ।
नेपालका वसन्त रेग्मीको १५ ओभरको दोस्रो बलमा ठूलो सट हान्दा बाउन्ड्रीलाइन नजिकै रहेका प्रदीप ऐरीले क्याच गर्नुअघि विरनदीपले ४९ बलमा ७ चौका १ छक्का प्रहार गरेका थिए । त्यस्तै कप्तान अहमद फैजले ४५ रनको योगदान दिए । उनलाई ललित नारायण राजवंशीबाट क्याच आउट गरिँदासम्म ३९ बलमा २ छक्का प्रहार गरेका थिए ।
नेपालका लागि वसन्तले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले १ विकेट लिए ।
मलेसियाको सुरुआत राम्रो रहे पनि अन्तिम ५ ओभरमा ३२ रन जोड्न ६ विकेट गुमाएपछि उसले नेपालसामु ठूलो लक्ष्य दिन सकेनको थिएन ।