काठमाडाैं, भदाै २४ । कृष्ण जन्माष्टमीको मूर्ति विसर्जन गर्ने क्रममा दुई समुह बीच झडप भए पछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले जारी गरेको कर्फ्यु आदेश हटाइएको छ । शनिवारदेखि लागु गरेको कर्फ्यु हटाउँदै थप तीन दिनका लागि निषेधाज्ञा जारी गरेको छ।
कर्फ्यु हटाइएपनि दुईपक्षबीच झडप हुनसक्ने सम्भावना भएकाले आज बिहान ८ बजेदेखि भदौ २७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला सुरक्षा समिति सर्लाहीका प्रमुख इन्द्रदेव यादवले निषेधाज्ञा आदेश जारी गर्दै बताएका छन्।
मलङ्गवा नगरक्षेत्र, पूर्वमा भीम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट वा पेट्रोलपम्मसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।
निषेधाज्ञा अवधिभर नगरक्षेत्र भित्र कुनै प्रकारका भेला, जुलुस, बैठक वा प्रदर्शन गर्न पोष्टर पर्चा जस्ता प्रचार सामाग्री टाँस्न वा लेख्न नपाइने निषेधाज्ञा आदेशमा उल्लेख छ ।
