मर्निङ वाक हिँडेकी महिलाको सिक्री लुट्ने दुई पक्राउ

रिपोर्ट नेपाल | 2019 Jun 25 | 03:39 pm 1670

धरान, असार १० :  मर्निङवाक हिँडिरहेकी महिलाको सुनको सिक्री लुट्ने दुई अभियुक्तलाई धरान प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। मंगलबार धरान १५ स्थित श्याम चोकबाट मर्निङ वाक गर्दै मेरिगोल्ड स्कुल अगाडि पुगेकी कमला गौतमको गलाबाट सुनको सिक्री लुटेर भाग्ने दुई जनालाई स्थानीयवासीको सहयोगमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

सिक्री लुटेर भाग्ने क्रममा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले तेह्रथुम आङदिम घर भई धरान ३ मा बस्दै आएका वर्ष २० का रामकुमार दर्लामगर र धरान ३ घर भएका १८ वर्षीय विनोद राईलाई पक्राउ गरेको डीएसपी ढुण्डिराज न्यौपानेले बताए।

लुटेराहरूको साथबाट गौतमको अढाई तोलाको सुनको सिक्री, दुई थान मोबाइल बरामद गरिएको उनले बताए। लुटपाटमा संलग्न दुबैजनाविरुद्ध मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको डीएसपी न्यौपानेले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.