चितवन, कार्तिक १४: एकसिंगे गैंडा चितवनवासीका लागि नौलो होइन। चितवन राष्ट्रिय निकुञ्जको वरपर रहेका मध्यवर्ती क्षेत्रका बस्तीमा गैंडा डुल्ने कुरा पनि नयाँ होइन।
तर, केही समययता जिल्लाको मुख्य व्यापारिक केन्द्र नारायणगढ बजार नजिकै घना बस्तीमा गैंडा घुम्ने, डुल्ने गरेको छ। भरतपुर महानगरपालिका ३ को बेलचोक बाह्रघरे क्षेत्र मुख्य बजार सहिदचोकबाट डेढ किमि पर छ। त्यही ठाउँमा साँझ र बिहान दिनहुँजसो गैंडा डुल्छ।
बिहान झिसमिसेमै उठेर मर्निङ वाक गर्ने सहरवासीसँग प्राय: गैंडाको जम्काभेट हुने गर्छ। गैंडा हेर्न चितवन निकुञ्जमा देश–विदेशका पर्यटक आउँछन्। मर्निङ वाक जाँदा गैंडा देख्दा केहीलाई रमाइलो पनि लाग्ला। राम्रैसँग उज्यालो हुँदा पनि कहिलेकाहीँ घर टोलमै गैंडा अलमलिरहेका हुन्छन्। यस्तो बेला गैंडालाई पृष्ठभूमिमा राखेर सेल्फी खिच्नेहरू पनि निस्कन्छन्।
तर यो रमाइलो मान्ने विषय होइन। गैंडा आइरहने महानगर ४ का वडाध्यक्ष हरिप्रसाद आचार्य भन्छन्, ‘बस्तीमा गैंडा आउनु एकक्षणका लागि अनौठो हो तर यो त्रासको विषय पनि हो।’ गैंडाले स्थानीयको खेती र तरकारी नोक्सान गरेको छ। गैंडा हिंस्रक वन्यजन्तु हो। यसले आक्रमण गर्दा मान्छेको ज्यानै जान सक्छ। मान्छेले हान्ने, घोच्ने गर्दा गैंडा पनि मर्न सक्छ। यस्ता घटना हुने गरेका पनि छन्।
घना बस्ती रहेको ठाउँमा एउटा होइन, धेरै नै गैंडा देखा पर्छन्। एउटा गैंडा बच्चासँगै आउँछ। वडाध्यक्ष आचार्य ५/६ गैंडा बस्तीमा आउने गरेको बताउँछन्। बच्चासहितको गैंडा खतरनाक हुन्छ। मान्छेसँग जम्काभेट हुने गरी साँझ परेपछि बस्तीमा आउने गैंडाहरू नारायणी नदीको भँगालोले बनाएको टापुको जंगलमा बस्छन्। यस्तै टापुमा छ नगरवन। बेलचोक बाह्रघरे क्षेत्रमा आउने गैंडा त्यही नगरवनका हुन्। बजारदेखि २ किमि पर छ नगरवन। नगरवनमा पहिला गैंडा थिएनन्।यो खबर आजको कान्तिपुर दैनिकमा छ।