मन्दिरमा पानी पिउँदा पुजारीबाट ३ दलित कुटिए, एकको अवस्था गम्भीर

रिपोर्ट नेपाल | 2018 Sep 12 | 07:18 pm 2386

बारा, भदौ २७ : बाराको परवानीपुर गाउँपालिकामा गत आइतबार मन्दिर परिसरमा रहेको चापाकलमा दलितले पानी पिउँदा कुटाइ खाएका छन् । मन्दिरका पुजारीले दलितको छोरा भएर किन पानी पिएको भन्दै उनीहरुलाई कुटेका हुन् ।

पुजारीको कुटाईबाट तीन घाइते भएका छन् । घाइतेको वीरगन्ज महानगरपालिका–१४ स्थित वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्येका ३५ वर्षीय सुमन रामको मेरुदण्डमा चोट लागेकाले उनको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।

अन्य दुईजनाको उपचार भइरहेको छ। परवानीपुर गाउँपालिका–३ का वडाअध्यक्ष अनिल रामका अनुसार आइतबार साँझ १० वर्षीय बालक राकेश राम श्रीराधा कृष्ण मन्दिर परिसरमा खेल्ने क्रममा त्यही रहेको चापाकलमा पानी पिएका थिए। मन्दिरका पुजारीले दलितको छोरा भएर किन पानी खाएको भन्दै २र३ थप्पड हिर्काउँदै धपाए।

राकेशले आफ्नो आमालाई उक्त घटना बताएपछि उनीहरु पुजारीकोमा पुगेका थिए। वडाअध्यक्षका अनुसार बच्चाले पानी खाँदैमा किन पिटेको भनि आमाले आक्रोश पोखिन्। ‘त्यसबखत मन्दिरमा उपस्थित वडाका केही भद्रभलादमीहरुले दुवै पक्षलाई सम्झाई बुझाई फर्काएका थिए,’।

घाइते भएका उमेद रामले मुलुकबाट छुवाछुत प्रथा कानुनीरुपले हटिसके पनि पानी खाएकै विषयमा मरणासन्न हुने गरी पिटाई खाएको गुनासो गरे ।

उमेद उपचार गराइरहेका शैय्याकै छेउमा उनका १७ वर्षीय छोरा आकाश रामको पनि उपचार भइरहेको छ। बाँसको भाटाको प्रहारले उनको टाउको फुटेको छ। बायाँ आँखामा र शरिर भरि डाम छ। टाउकोमा तीनवटा टाँका लागेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.