काठमाडौं,साउन २९: प्रशस्तै काठको सम्भावना हुँदाहुँदै पनि विभिन्न नियम कानूनका कारण विदेशबाट काठ आयात भइरहेको बेला वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले काठमा मुलुकलाई आत्मनिर्भर बनाउने घोषणा गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित ‘वन दिगोपनाको आधार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले वन लगाएत वनजन्य सामाग्रिको प्रयोगका कारण प्रकृतिमा विनास हुन्छ भन्ने मानसिकता नराख्न पनि आग्रह गरेका थिए ।
मन्त्री बस्नेतले वन क्षेत्रको लाभ स्थानियतह लाई दिए स्थानियले नै यसको संरक्षण गर्ने र दिगो विकास गर्ने पनि स्मरण गराए । मन्त्री बस्नेतले संरक्षण र दिगो विकास वाट नै वन क्षेत्र बाट मनग्य लाभ लिन सकिने समेत वताएका थिए।
विश्वमा कार्वन उत्सर्जनका कारण जलवायु परिवर्तनमा नकरात्मक असर परेको भन्दै जलवायु परिवर्तनको असरलाई न्यूनिकरण गर्न सरकारले कार्वन व्यापारलाई उच्च प्राथमिकता दिएको पनि बस्नेतले स्पष्ट पारेका थिए।
मन्त्री बस्नेतले विश्वका विकसित राष्ट्रहरुले गरेको प्राकृतिक स्रोतको अत्याधिक दोहनका कारण नेपालमा पनि जलवायु परिवर्तनमा असर परेको भन्दै क्षतिपूर्तिका लागि सरकारले पहल गरिरहेको पनि बताए ।