मनसुनजन्य प्रकोप पीडितलाई एकद्वार प्रणालीबाट राहत

| 2021 Jul 05 | 07:25 am 1585

काठमाडाैं, असार २१ः राष्ट्रिय विपद्, जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्ष मनसुन समाप्तिसम्मको अवधिमा १८ लाखभन्दा बढी सर्वसाधरण मनसुनजन्य घटनाले प्रभावित हुने अनुमान गरेको छ ।

मनसुन सुरुवात भएको महिना दिन नपुग्दै बाढी पहिरोको घटनाले जनमानसमा त्रास छाइरहेको बेलामा प्राधिकरणले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०७८ सार्वजनिक गदैृ प्राकृतिक विपत्तीबाट यति धेरै प्रभावित हुने अनुमान गरेको हो । बाढी पहिरो तथा पानीजन्य प्राकृतिक विपत्ति अझै बढ्ने र सतर्कता अपनाउन कार्ययोजनाले सुझाव दिएको छ ।

सीमावर्ती क्षेत्रमा भारत सरकारले बनाएको तटबन्ध, बाँध, अग्ला सडक, रेलमार्ग, ब्यारेज र नहर प्रणाली लगायत संरचनाले पनि तराईका बस्ती र खेतवारी धेरै जोखिममा रहेको कार्ययोजनामा उल्लेख छ । “यस्ता संरचनाले सीमावर्ती गाउँबस्तीमा बाढी, डुबान, कटानको उच्च जोखिम देखिन्छ, प्रदेश नंर २ र लुम्बिनी प्र्रदेशमा बाढीजन्य जोखिम अत्यावधिक हुने आंकलन गरिएको छ, अहिले पनि मध्य पहाडी क्षेत्रमा पनि अचानक बाढी आउने र धनजनको ठूलो क्षति गरेको छ,” कार्ययोजनामा उल्लेख छ, “विशेष गरी तराई तथा भित्रि मधेस क्षेत्र बाढीको दृष्टिकोणले निकै संवेदनशिल छ, यी भू–भागमा बाढीको जोखिम छ ।”

कार्ययोजना अनुसार, नदीनालाको अतिक्रमण, ढल निकासको उचित्र प्रबन्ध नहुन, जथाभाबी गरिएका जग्गा प्लटिङ आदिका कारण बाढी जोखिम बढ्दै गइरहेको छ । प्राविधिक मापदण्डको पालना नगरी गाउँघरमा जथाभावी खनिएका सडकले पनि बाढी कारक हुँदै गईरहेको अध्ययनको निष्कर्ष छ ।

बाढीबाट ठूलो धनजनको क्षति हुनुमा ठूला बर्षा, अपूरो र कमजोर व्यवस्थापन, नदीको बहाव क्षेत्रमा हुने अतिक्रमण, अव्यवस्थित वस्ती बिकास, भारतले सीमावर्ती षेत्रमा बनाएको भौतिक संरचना तथा तटबन्द रहेको कार्ययोजनामा उल्लेख छ ।

आपतकािलन जोखिम न्यूनिकरण गर्न र बाढी आउनु पूर्व सूचना प्रभाह गर्न सकेमा धनजनको क्षति कम हुने कार्ययोजनाले बताएको छ । पहिरोका कारणमा पनि धनजनको क्षति बढिरहको छ । नेपालको पर्वतीय भूसतह ज्यादै कमजोर छ । तीब्र वन विनास, अत्यन्त भिरालो पहाड, पर्वत खोरिया फडानी, अवैज्ञानिक खेती प्रणाली, मनसुनको समयमा हुने वर्षा, त्यसपछिको बढ्दो तापक्रमका कारण पहाड र चुरे क्षेत्रमा पहिरो गईरहने कार्ययोजनामा उल्लेख छ । वातावरणमैत्री बिकास निर्माण नहुँदा मनसुनजन्य घटना बढिरहेको छ ।

राष्ट्रिय विपद्, जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरकणका प्रवक्ता विश्वप्रकाश अर्यालले यो वर्ष मनसुन प्रारम्भमा नै मानसुनजन्य विपतका घटना भएकाले सतर्कता अपाउनुपर्ने बताए । “गत वर्ष पनि ३५९ जानाको मृत्यु भएको थियो , यो बर्ष प्रारम्भमा नै घटना भएकाले सावधानी अपनाउने गर्नुपर्छ,” उनले भने, “स्थानीय तह, जिल्ला विपत व्यवस्थापन समती, प्रदेश, विभिन्न केन्द्रका सम्बन्धित सरकारी निकायबीच समन्वय गरिरहेका छौ, प्रतिकार्यका लागि पूर्वतयारीका काम भएको छ, खुला ठाउँ पहिचान, सुचना प्रणालीलाई व्यवस्थित बनाउने काम गरिरहेका छौ ।”

विपत व्यवस्थापनविद् डा. सुवोध ढकालले राज्यले विपतको पूर्वतयारीमा लगानी बढाउन नसक्दा र पूर्वतयारीको काम फितलो हुँदा मनसुनजन्य विपतको क्षति न्यूनिकरण हुन नसकेको बताए । “यो वर्ष पनि मनसुनजन्य घटना बढ्ने अनुमान छ,” उनले भने, “क्षति न्यूनिकरण गर्न राज्यले व्यापक रुपमा पूर्वतयारीका कार्यक्रम थालनी गर्नुपर्छ, विपतपूर्वको अवस्थामा चाहिँ अध्ययन अनुसन्धान, जोखिम पहिचान, जोखिममा भएका बस्ती स्नान्तरण गर्नुपर्ने पक्षमा हामी कमजोर देखिन्छौ ।” काराेबार दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.