गोरखा, बैशाख ७ः विश्व प्रशिद्ध धार्मिक स्थल मनकामना मन्दिरका पुजारी इन्सान थापा मगरले बोकेको ‘पोइन्ट टुटु’ नामक बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रबार राति नौ बजे साथमा बन्दुक बोकेर हिडेको अवस्थामा प्रहरीले उनलाई भेटेको थियो । लाइसेन्स भएपनि लकडाउनको समयमा बन्दुक बोकोर हिँडेपछि नियन्त्रणमा लिइएको एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए ।
एसपी अधिकारीका भनाइ अनुसार ‘लाइसेन्स भएकाले उहाँलाई समातेनौं, तारेखमा छाडेका छौ, बन्दुक हाम्रो नियन्त्रणमा छ ’ । व्यक्तिगत प्रयोजनका लागि भन्दै पुजारी थापाले तीन वटा बन्दुक राख्न पाउने इजाजत जिल्ला प्रशासन कार्यालयबाट लिएका छन् ।
तर, उनले उक्त हतियार शिकार खेल्नका लागि प्रयोग गर्दै आएको स्थानीयले बताएका छन् । शुक्रवार राति पनि शिकार खेल्न बन्दुक बोकेर हिँडेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले उक्त बन्दुक नियन्त्रणमा लिएकाे बताइएकाे छ ।