मध्यतराईमा भव्य रूपले मनाइयो छठ पर्व

रिपोर्ट नेपाल | 2022 Oct 31 | 07:42 am 2185

वीरगन्ज, कात्तिक १४ः मध्यतराईमा भव्य रूपले मनाइने छठ पर्व पर्सा, बारा र रौतहटमा पनि भव्य रूपले मनाइएको छ । नहाय खाए गरी सुरु भएको यो वर्षको छठ पर्व मध्यतराईमा भव्य रूपले मनाइएको हो ।

छठको विशेष दिन बेहुली झैं सिंगारिएका स्थानीय नदी, तलाउ, तथा जलाशयमा पुगी व्रतालु नरनारीले सँझिया घाटको सूर्यलाई अर्घ दिएर मनाइने प्रचलन छ । सोही प्रचलनअनुसार मध्यतराईका पर्सा, बारा र रौतहटलगायतका जलाशयमा पनि श्रद्धालु भक्तजनले परम्परालाई यो वर्ष पनि निरन्तरता दिए । मध्यतराईको विशेष घाटका रूपमा चिनिएको पर्साको घडीहर्वा पोखरी परिषरमा पनि लाखौं श्रद्धालु भक्तजन तथा दर्शनार्थीहरू सहभागी भएका छन् ।

वीरगन्ज महानगरको समेत मुटुमा रहेको यो पोखरीको साजसज्जाको सबै खर्च १६ लाख ४१ हजार लाग्ने अनुमान घडीअर्वा पोखरी छठपूजा व्यवस्थापन समितिका अध्यक्ष हिरालाल साहले बताए । गत वर्ष पनि घडीअर्वा छठपूजा व्यवस्थापन समितिले यो पोखरीमा १४ लाख ३६ हजार ८ सय ८० रुपैयाँको साजसज्जाको कुल खर्च गरेको थियो ।

सूर्यको उपासना गरी मनाइने यो पर्व अहिले भने निकै भव्य भएको सहभागीमध्ये वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले बताए । गएका केही वर्ष कोभिड–१९ को विश्व प्रभावसँगै मध्यतराईका सर्वसाधारणले खुलेर मनाउन नपाएको यो पर्व अहिले भने निकै भव्य रूपले मनाएको उनको भनाइ छ । पवित्रताको पर्वको प्रतीकका रूपमा मनाइने यो पर्व सोमबार बिहानको उदाउँदो सूर्यलाई अर्घ दिएपछि भने समापन हुने व्रतालु मध्येकी लक्ष्मी गुप्ताले बताइन् ।

यो पर्वमा हरेक घरका सबै सदस्य नयाँ बस्त्र धारण गरी खानामा समेत परेज (सतर्कता) अपनाई शुद्धाशुद्धी भएर मनाउँछन् । छठमा केला, नरिवल, अदुवा, उखु र ठेकुवा तथा माटोबाट बनाइएका घरेलु सामानको नै बढी प्रयोग हुने भएकाले किसानकर्मबाट उत्पादिन र निर्मित सामानको नै बाहुल्यता हुने गरेको छ । यो पर्वमा मध्यतराईको वीरगन्जलगायतका बजारमा लामो समय बिक्री नभएर भण्डारण गरिएका लत्ताकपडालगायतका सामग्रीको खपत पनि विगतका ३-४ वर्ष यता धेरै भएको स्थानीय व्यापारीले बताएका छन् । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.