मंसिरमा नेविसंघको महाधिवेशन नहुने निश्चित

रिपोर्ट नेपाल | 2018 Oct 04 | 11:16 am 1595

काठमाडौँ, असोज १८ : विगत दुई महिना देखि विवादित बन्दै गएको नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी सङ्घको आगामी हुने भनिएको महाधिवेशन अनिश्चित बन्दै गएपछि विद्यार्थी नेताहरु आक्रोशित भएका छन् ।

कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय विद्यार्थी नेताहरुले पार्टी नेतृत्वले स्वेच्छाचारी ढंगले संगठनलाई अघि बढाएका कारण नेविसंघ दिन प्रति दिन कमजोर बन्दै गएको आरोप लगाएका छन् । नेविसंघको महाधिवेशन समयमै गर्न भन्दै पार्टीले बनाएको समितिले विधान र नियमावली पारित नगर्दा महाधिवेशन अनिश्चित बन्दै गएको आरोप विद्यार्थी नेताहरुले लगाएका छन् ।

झण्डै एक महिना अगाडी सम्पन्न नेविसंघको केन्द्रीय समितिको बैठकले ११औँ महाधिवेशनमा लगाइएको ३२ वर्षे उमेरहद हटाउने प्रस्तावसहित विधान र नियमावली पार्टीलाई बुझाएको थियो ।

नैनसिंह महरको नेतृत्वमा रहेको वर्तमान नेविसंघको कार्यसमितिको म्याद भदौ २ गते सकिएकोले पार्टीले तीन महीनाभित्र निर्वाचन सम्पन्न गर्न निर्देशन दिएबमोजिम मङ्सिर २ गते म्याद समाप्त हुने भए पनि महाधिवेशन हुने कुरामा शंका उत्पन्न भएको छ ।

पार्टीबाट विधान र नियमावली अनुमोदन भएपछि असोज ७ गते देशभरका माध्यामिक विद्यालय र क्याम्पसमा अधिवेशन, असोज १२ मा सबै स्थानीय तहमा अधिवेशन, असोज १५ मा क्षेत्रीय अधिवेशन, असोज २१ मा ७७ वटै जिल्लाको अधिवेशन, असोज २३ मा उपत्यकाभित्रका क्याम्पस अधिवेशन, कात्तिक १० र ११ गते सातै प्रदेशको अधिवेशन र कात्तिक १६ देखि १८ सम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने समयतालिका पार्टीलाई बुझाइएको थियो ।

नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारी निर्देशन समितिले दिएको निर्देशनअनुसार नै समयतालिका, विधान र नियमावली निर्देशन समितिलाई बुझाउँदा पनि निर्वाचन टार्ने खेल भइरहेको बताए ।

संस्थापन पक्ष ३२ वर्ष उमेर हदको कारण देखाएर महाधिवेशन टार्ने पक्षमा देखिएको र पछिल्लो समय अन्य भातृ सङ्गठन आफ्नो समूहबाट पराजित हुँदै गएपछि संस्थापन पक्ष निर्वाचन गर्ने पक्षमा नरहेको अधिकारीको भनाइ रहेको छ ।

प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा लोकतान्त्रिक फोरमबाट कांग्रेसमा प्रवेश गरेका विजयकुमार गच्छदार समूहसँगै नेविसंघमा एक महामन्त्रीसहित १५ केन्द्रीय सदस्य विस्तार गरेपछि चर्काचर्की भएको छ ।

नेविसंघका कोषाध्यक्ष शिव रिमाल निर्देशन समितिले गरेको आलटालका कारण तोकिएकै समयमा निर्वाचन नहुने आशङ्का बढेको बताए । निर्वाचनको सुनिश्चितताका लागि निर्देशन समितिले विधान र नियमावली तत्काल टुङ्ग्याउनुपर्ने रिमालको भनाई रहेको छ ।

विद्यार्थी नेता मोतीलाल भण्डारी महाधिवेशनको मुखमा अध्यक्षले कार्यसमिति विस्तार गर्दा नेविसंघको महाधिवेशन नहुने हो कि भन्ने आशङ्का पैदा भएको बताए ।

विद्यार्थी नेता ग्यालवाङ तामाङ तोकिएको समयमा नेविसंघको निर्वाचन हुन नसक्दा कांग्रेस कमजोर हुने बताए । नेविसंघ जति बलियो हुन्छ, त्यति नै कांग्रेस बलियो हुन्छ, उनले भने। नेविसंघका सहमहामन्त्री एवं प्रवक्ता प्रेमराज जोशी केन्द्रीय समितिको बैठकले विधान संशोधन नगरेका कारण नेविसंघको महाधिवेशन अन्योलमा परेको बताए ।

निर्देशन समितिका सदस्य एवं कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशी अब बस्ने केन्द्रीय समिति बैठकमा नेविसंघको विधान र नियमावलीबारे छलफल हुने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.