मंगोलिया विरुद्ध नेपालको किर्तीमानी २७३ रनले विजयी

| 2023 Sep 27 | 12:09 pm 1445

काठमाडाैं, असोज १० । चीनको हांग्जाउमा जारी १९औँ एसियाली खेलकुदको बुधबार खेलिएको मंगोलियाविरुद्धको खेलमा नेपालले मंगोलियालाई २ सय ७३  विश्व कीर्तिमानी सहितको जित हात पारेको छ  । नेपालले दिएको  ३ सय १५ रनको विशाल लक्ष्य पछ्याएको मंगोलियालाई नेपाली बलरहरुले १३ दशमलब १ ओभरमै ४१ रनमा अल आउट गरे।

यो टि२०  इतिहासकै सबैभन्दा ठूलो जित हो। यसअघि २०१९ मा चेक रिपब्लिकनले टर्की विरुद्ध २ सय ५७ रनको जित हात पारेको थियो। त्यस्तै क्यानडाले २०२१ मा पानामामाथि २ सय ८ रनको फराकिलो जित हात पारेको थियो।

मंगोलियाका दावासुरेनले सबैभन्दा बढि १० रन बनाए।अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछानेले समान दुई विकेट लिए । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक एक विकेट लिए।

चीनको हांग्जाउमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनायो।

नेपालका कुशल मल्लले ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनको अविजित इनिङ खेले।कुशलले ३४ बलमै शतक प्रहार गरेका थिए । योसँगै कुशल टि२० आई इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याटर बनेका छन् । यसअघि टि२० मा सर्वाधिक छिटो शतक ३५ बलमा थियो।भारतका रोहित शर्मा,दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए।

दीपेन्द्रसिंह ऐरी १० बलमा ८ छक्कासहित ५२ रनमा क्रिजमा नटआउट रहे । दीपेन्द्रले ९ बलमै अर्धशतक प्रहार गरेका थिए। उनी कुनैपनि खेलमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन्। यसअघि भारतीय ब्याटर युवराज सिंहले  २००७ मा इंग्ल्यान्डविरुद्ध १२ बलमै अर्धशतक हानेका थिए।

कप्तान रोहित पौडेल २७ बलमा २ चौका र ६ छक्कासहित ६१ रनमा आउट भए।

नेपालले आफ्नो समूह चरणको अन्तिम खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.