काठमाडौं, माघ २८ : कलाकारिताबाट समाजसेवामा लागेका चर्चित हास्यकलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस’ ले मलेसियामा आफूले सोचे भन्दा पनि राम्रो साथ-सहयोग मिलेको बताएका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण लागि सहयोगार्थ रकम सङ्कलन गर्न मलेसिया पुगेका बेला आफूले सोचे भन्दा पनि बढी साथ-सहयोग मिलेको धुर्मुसले बताए ।
रंगशाला निर्माण अभियानलाई लिएर फेरि केही समयपछि मलेसिया जाने निम्तो पनि पाएको पनि जनाएका छन्, उनले लेखेका छन्, ‘मलेसियामा रहनु भएका नेपाली दिदीबहिनी दाजुभाइहरूबाट हामीले सोचे भन्दा पनि राम्रो साथ-सहयोग र सद्भाव पाएका छौँ। यही अभियानलाई लिएर फेरि केही समयपछि मलेसिया आउने निम्तो पनि पाएका छौँ यसले हामीलाई थप हौसला मिलेको छ ।’
सहयोगार्थ रकम सङ्कलन गर्न मलेसिया पुगेको बोला केही अनलाइन मिडियाहरूले भ्रामक समाचार प्रसारण गरेकाेमा आपत्ति समेत जनाएका छन् । उनले भ्रामक समाचारको पछाडि नलाग्न सबैलाई अनुरोध गरेका छन् ।
चितवनको भरतपुरमा निर्माण कार्य सुरु भइरहेको रंगशालाको लागि सहयोगार्थ रकम सङ्कलन गर्न मलेसिया पुगेका धुर्मुस-सुन्तलीमाथि केही अनलाइन मिडियाले भ्रामक समाचार प्रसारण गरेको थियो ।
केही दिन अघि काठमाडौँमा भरतपुर महानगर र धुर्मुस सुन्तली फाउण्डेसनबीच रंगशाला निर्माणका लागी सम्झौता भएको थियो। २० विगाहा ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको निर्माण लागत ३ अर्ब लाग्ने बताइएको छ।