‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्नँ । म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्छु ।’
उपरोक्त वाक्य कुनै व्यक्तिविशेषको अभिव्यक्ति नभई हरेक कर्मचारीले अबदेखि कार्यालयमा काम शुरु गर्नुअघि लिनुपर्ने सपथ हो । आश्चर्य मान्नु पर्दैन, अबदेखि सबै निजामती कर्मचारीले कार्यालय प्रवेश गर्नासाथ अनिवार्य रूपमा भ्रष्टाचार नगर्ने शपथ लिनुपर्ने भएको छ।
कर्मचारीले दिनभर काम गर्दा कुनै किसिमको मोलाहिजा नगर्ने र आफ्नो स्वार्थअनुसार काम नगर्ने शपथ दिनहुँ लिनु पर्ने नियम शुरु गरिएको हो । नयाँ प्रावधानसँगै मुलुकका ८८ हजार निजामती कर्मचारीले बिहान कार्यालय समय सुरु हुनासाथ एकै पटक भ्रष्टाचारविरोधी शपथ लिने छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गत बुधबार सबै मन्त्रालय, केन्द्रीय निकाय, आयोग, नियोगलगायतमा पत्राचार गर्दै देशभर रहेका मातहतका कर्मचारीलाई भ्रष्टाचारविरोधी शपथ गराउन निर्देशन दिएको छ। प्रधानमन्त्री कार्यालयले शपथका साथै भ्रष्टाचार नगर्ने बेहोराको साइनबोर्ड देशभर सबै सरकारी कार्यालयमा अनिवार्य रूपमा टाँस्न पनि सर्कुलर गरेको छ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको सरकारी नीति व्यवहारमा उतार्न यस्तो निर्णय गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । शपथ लिएर पनि कर्मचारीले प्रभावकारी काम गरे नगरेको माथिल्लो तहबाट अनुगमन हुने पनि बताइएको छ ।
सरकारी कर्मचारी अहिले पनि सुशासन कायम गर्न जिम्मेवार नभएको, भ्रष्टाचारमा लिप्त रहेको र आफ्नो स्वार्थमा नै केन्द्रित भएकाले त्यो प्रवृत्ति रोक्न यस्तो अभियान थालिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
तर, यसरी भ्रष्टाचार नगर्ने सपथ लिँदैमा कर्मचारीको व्यवहारमा सकारात्मक परिवर्तन आउला र भ्रष्टाचार रोकिएला भन्नेमा विश्वास नरहेको टीकाटिप्पणी गरिएको छ । भ्रष्टाचारीलाई कारवाही गर्ने संयन्त्रको प्रभावकारी कदमविना सपथ लिएकै भरमा कर्मचारीको व्यवहार परिवर्तन हुन नसक्ने उच्च तहबाट अवकासप्राप्त गरेका एक पूर्वकर्मचारीले प्रतिक्रिया दिए ।