मोरङ, पुस ६: प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्यमा विशेष कार्यक्रम आयोजना गरिने जानकारी दिए ।
यही पुस १६ गते विराटनगरस्थित शहीद रङ्गशालामा आयोजना हुने उद्घाटन समारोहलाई भव्य बनाउन सबै उपसमितिहरु सक्रियरूपमा लागेको शनिबार आयोजित पर्यटन प्रवर्धन समितिको बैठकमा उनले बताए ।
मन्त्री कुसियतले उद्घाटन कार्यक्रमलाई व्यवस्थित एवं भव्य बनाउन बाँकी रहेका कामलाई समेत द्रुतगतिमा सम्पन्न गर्न निर्देशन दिए। रङ्गशालामा हुने उद्घाटन कार्यक्रममा १० हजारको सहभागिता गराइनुका साथै प्रदेशमा बसोबास गर्ने विभिन्न जातजातिका झाँकी प्रदर्शन, १४ जिल्लामा उत्पादन हुने स्थानीय उत्पादन र परिकारका प्रदर्शनी कक्षसमेत राखिने मूल समारोह व्यवस्थापन उपसमितिका संयोजक फणिन्द्र अधिकारीले जानकारी दिए ।
एयर बेलुनबाट भ्रमणवर्ष २०२० को झण्डा फहराउनुका साथै हेलिकोप्टरबाट पुष्पवृष्टि गरिने छ । उद्घाटनपूर्व साइकल÷मोटरसाइकल र्याली, विभिन्न नाका र विमानस्थलमा आउने पर्यटकलाई स्वागत गर्नेसमेत तयारी पूर्ण भएको मूल समारोह व्यवस्थापन उपसमितिले गरेको छ ।
पर्यटन प्रवर्धन समितिका संयोजकसमेत रहेका मन्त्री कुसियतले उद्घाटनलाई भव्य बनाउन हालसम्म भएका प्रगतिका विषयमा समेत उपसमितिहरुसँग छलफल गरेका थिए । सो अवसरमा उपसमिति संयोजकहरुले आ–आफ्ना समितिले गरेका र अब बाँकी रहेका कामका बिषयमा जानकारी गराइएको थियो ।
भ्रमण वर्ष सफल बनाउन सबै जिल्लालाई समेटेर विभिन्न विषयगत १२ उपसमिति बनाइएको छ । मुख्यमन्त्री शेरधन राईले नेपाल भ्रमण वर्षको प्रदेशस्तरीय कार्यक्रमको उद्घाटन पुस १६ गते गर्ने मूल समितिले जनाएको छ ।