भ्याक्सिन आयात सहज बनाउन अध्यादेश ल्याइँदै

रिपोर्ट नेपाल | 2020 Nov 12 | 08:55 am 1903

काठमाडाैं, कात्तिक २७ः कोरोना भाइरस रोकथामको भ्याक्सिन तयार हुनेबित्तिकै आयात गर्ने कानुनी प्रक्रिया सहज बनाउन सरकारले अध्यादेश ल्याउने भएको छ । यसअघि विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको रेमडेसिभिर ल्याउनसमेत अड्चन भएकाले कोरोनाविरुद्धको खोपलगायत औषधि पत्ता लाग्नासाथ ल्याउन सजिलो हुने गरी कानुन संशोधन गर्न अध्यादेश ल्याउन लागिएको हो ।

अहिले विभिन्न मुलुकमा कोरोना भ्याक्सिनको क्लिनिकल परीक्षण भइरहेको छ । नेपालमा कोरोना संक्रमितको संख्या बुधबार २ लाख नाघेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कोरोनाबाटै मृत्यु हुनेको संख्या १ हजार १ सय ७४ पुगिसकेको छ । सार्क मुलुकमा कोरोनाबाट संक्रमित भएपछि निको हुने दर नेपाल छैटौं स्थानमा छ । निको हुने दर कमी हुनेमा नेपालभन्दा तल श्रीलंका र बंगलादेश मात्रै छन् ।

‘संक्रमित हुने संख्या रोक्न भ्याक्सिन बन्नेबित्तिकै ल्याउनका लागि कानुनी अड्चन फुकाउन अध्यादेश प्रस्ताव गरिएको हो,’ स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले भने । एफडीए, डब्लूएचओ जस्ता आधिकारिक संस्थाबाट मान्यता प्राप्त औषधि र खोप मात्रै आयात गर्न मिल्ने कानुनी व्यवस्था भएकाले आकस्मिक रूपमा प्रयोग गर्न मिल्नेलाई पनि आयात सहज ढंगले गर्न अध्यादेशको प्रस्ताव गरिएको उनले बताए ।  कान्तिपुर दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.