भोलि बुधबार देखि चार दिन बदली तथा वर्षाको सम्भावना

| 2022 Jan 04 | 01:24 pm 1501

काठमाडौँ पुस 20 : जल तथा मौसम पूर्वानुमान महाशाखाक अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण भोलि बुधबारदेखि आउँदो शनिबारसम्म देशभरको मौसम बदली भइ वर्षाको सम्भावना रहेको छ । महाशाखाले मंगलबार मौसमी अवस्था सम्बन्धी विशेष बुलेटिन जारी गरेर चार दिन बदली तथा वर्षाको सम्भावना रहेको जानकारी दिएको हो ।

आज मंगलबार रातिदेखि पश्चिमी नेपालबाट प्रवेश गर्न लागेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बुधबारदेखि शनिबारसम्म सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली तथा प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।’

शनिबारसम्म यो प्रणाली देशभर फैलिएर विशेष गरी सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको विभागले जनाएको छ ।

‘बागमती प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी तथा तराई भेगका केही र प्रदेश १ र २ मा हल्का वर्षाको समेत सम्भावना रहेको छ’ मौसमी बुलेटिनमा भनिएको छ ।

आउँदो आइतबारदेखि पश्चिमी न्यून चापीय मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.