भोटेओडार महोत्सवको मुख्य लक्ष्य पर्यटक प्रवर्धन

रिपोर्ट नेपाल | 2019 Jan 19 | 04:17 pm 2600

लमजुङ, माघ ५ : लमजुङको सुन्दरबजार नगरपालिकाभित्र पर्ने पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्धन लागि ‘भोटेओडार महोत्सव’ संचालन गर्ने भएको छ ।

माघ १८ देखि २७ गतेसम्म हुने महोत्सवमा लमजुङ उद्योग वाणिज्य संघ भोटेओडार इकाइको आयोजनामा १ सय ५० स्टल राख्ने आयोजकले जनाएको छ ।

महोत्सवलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि ३ सय ५१ सदस्यीय मूलआयोजक समिति गठन र विभिन्न २८ उपसमिति गठन गरिएको छ ।

‘समृद्ध भोटेओडारको मूलआधार, पर्यटन प्रवद्र्धन, उद्योग व्यापार, परम्परागत सीप, कला र संस्कृतिको संरक्षण’ भन्ने मूलनाराका साथ शुरु हुने महोत्सवमा करीब एक लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । महोत्सबाट करीब ५९ लाख ७० हजार आम्दानी गर्ने लक्ष्य राखिएको महोत्सवका सहसंयोजक निपेन्द्र श्रेष्ठले जानकारी दिए ।

उक्त क्षेत्रको एक आकर्षक स्थान तार्कुकोटमा पर्यटन प्रवर्धनका लागि पूर्वाधार निर्माण, भोटेओडारको मुख्य बजार क्षेत्रमा सिसी क्यामेरा जडान, भक्ति नमूना माविको विशेष कक्षामा पढ्ने विद्यार्थीका लागि सहयोग गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको लमजुङ उद्योग वाणिज्य संघ भोटेओडार इकाइका अध्यक्ष एवं महोत्सवका संयोजक सुरजकुमार श्रेष्ठले जानकरी दिए ।

महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रदर्शनी, विज्ञान प्रतियोगिता, प्याराग्लाईडिङ उडान, माविस्तरीय लोक नृत्य प्रतियोगिता, जातीय सांस्कृति झलक, नाटक प्रदर्शनी गरिने महोत्सव सचिवालयका संयोजक रेवतीकुमार श्रेष्ठले बताए।

महोत्सवको मुख्य आकषर्णमा बाल उद्यान, स्थानीय कृषि, घरेलु तथा हस्तकला, प्रदर्शनी, स्थानीय फोटो प्रदर्शनी, परम्परागत खाना महोत्सव, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, झाँकी तथा र्याली प्रदर्शनी, सरकारी तथा गैरसरकारी निकायको गतिविधि, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुतिसमेत हुने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.