भोजपुर लगिएका प्रकाण्डलाई साँगाबाट किन फर्काइयो ?

| 2018 Aug 24 | 08:03 am 2216

विभिन्न व्यवसायीसँग करोडौँ चन्दा उठाएको आरोपमा विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड यतिबेला गरफ्तार भई प्रहरी नियन्त्रणमा छन् । उनलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए पनि अदालत परिसरबाटै प्रहरीले पुनः नियन्त्रणमा लिँदै आएको छ ।

यही भदौ १ गते सर्वोच्चले रिहा गर्न आदेश दिए पनि अदालतपरिसरबाटै नियन्त्रणमा लिइएका पूर्वमन्त्री समेत रहेका विश्वकर्मालाई हिजो विहिबार पनि सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो । तर, उनलाई पुनः पक्राउ गरियो र भोजपुर लैजाने भन्दै बनेपातर्फ दौडाइयो ।

तर, भोजपुर चलान भएका प्रकाण्डलाई काभ्रे र भक्तपुरको सीमा इलाकामा पर्ने साँगाबाटै एकाएक फर्काइएको बुझिएको छ ।

यसरी भोजपुरतर्फ लैजाने भनी साँगासम्म पुर्याइएपछि उनलाई पुनः किन फर्काइयो भन्ने रहश्योद्घाटन भइसकेको छैन । तर, उनलाई नुवाकोट चलान गरिएको भन्ने बुझिएबाट अब नुवाकोट जिल्ला अदालतमा पेस गरी कारवाही अघि बढाइन लागेको हुन सक्ने अनुमान गरिएको छ ।

स्मरणीय छ, केही महिनाअघि नुवाकोटमा एनसेलको टावरमा आगजनी भएको थियो । सो घटना नेकपाको वरिष्ठ हैसियतमा रहेका विश्वकर्माकै निर्देशनमा भएको भन्ने प्रशासनको ठहर छ । त्यसैले, भोजपुरसम्म पुर्याउनुको साटो राजधानीबाट नजिकै पर्ने नुवाकोटमा लगेर कारवाही अघि बढाउने सोचमा गृह प्रशासन पुगेको र त्यसैको नतिजास्वरुप साँगाबाट विश्वकर्मालाई एकाएक फर्काइएको हो ।

खड्ग विश्वकर्मालाई न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोतम भण्डारीको संयुक्त इजलासले सर्वोच्चको रजिष्ट्रारको रोहबरमा बिहीबार छाड्न आदेश दिएको थियो । सर्वोच्चको आदेशले छुट्नासाथ प्रकाण्डालाई पुनः तेस्रोपटक पक्राउ गरिएपछि मानवअधिकारकर्मी, पत्रकार र नागरिक समाज लगायतले सरकारको यस कदमको विरोध गरेका छन् । तर, राज्यविरुद्ध आतंकवादी शैलीमा क्रियाकलाप गरेकोले तथ्य छानविन गरी कारवाही अघि बढाउन गृह प्रशासन दृढ रहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.