पर्सा, असार २५: जिल्लामा एक युवकले आफूसंग सल्लाह नै नगरी घरको भैंसी बेचेको निहुमा आमालाई निर्घात कुटपीट गरी ज्यान लिएका छन् ।
मंगलबार वीरगन्ज महानगरपालिका २४ रामगढवाको नयाँबस्तीमा ४० वर्षीया शोभा देवीको उनका छोरा २० वर्षीय गुड्डु यादवले धारिलो हतियार प्रहार गरी ज्यान लिएकाे प्रहरीले जनाएको छ।
भैंसी बेचेको विषयमा मङगलबार दिउँसो आमा छोराबीच विवाद भएपछि आक्रोशमा आएका गुड्डुले आमा शोभा देवीको घाँटी र अनुहारमा धारिलो फलामको हतियार प्रहार गर्दा उनको घटनास्थलमै निधन भएको हो। धारिलो हतियार प्रहार गर्न थालेपछि भाग्ने क्रममा आमा शोभादेवीलाई लखेटदै गुड्डुले सडकमा पुगेर ज्यान लिएको प्रत्यक्षदर्शीले बताएका छन्।
गुडडुलाई प्रहरीले घटनालगत्तै पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको थुनामा राखेर अनुसन्धान भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । मृतक शोभादेवीको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको प्रहरी नायव उपरीक्षक शर्माले बताए । घटनाका बिषयमा थप अनुसंधान जारी नै रहेको प्रहरीको भनाइ छ ।