भैरहमामा लापसे गरे नगरेको परिक्षणमा कडाई

रिपोर्ट नेपाल | 2023 Jun 10 | 03:23 pm 1425

रुपन्देही, जेठ २७। सवारी चालकले लागु औषध सेवन गरेको व्यापक गुनासो बढेपछि रुपन्देही जिल्ला ट्राफिक प्रहरी कार्यालयले लागुऔषध सेवनकर्ताको चेकजाँच गर्न सुरु गरेको छ ।

सीमावर्ती क्षेत्रमा खुला रुपमा पाइने लागु औषधको सेवन गरी सवारी चलाउँदा ज्यान नै जोखिममा हुने गरेको भन्दै सडक सुरक्षा अभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बेलहिया र लागुऔषध नियन्त्रण ब्युरोको सहकार्यमा चालकहरुले लागु औषध सेवन (लापसे) गरे नगरेको परीक्षण शुरु गरिएको हो ।

रेपिड मल्टी ड्रग टेष्टडिपकार्ड (किट) मार्फत चालकले विभिन्न ६ प्रकारको लागुऔषध सेवन गरे नगरेको परीक्षण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक साकारराज पन्तले बताए । सेवन गरे नगरेको चेकजाँच गर्ने उक्त उपकरण पश्चिमाञ्चल ट्रक यातायात व्यवसायी समितिले सहयोग गरेको थियो ।
प्रहरी सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत सीमावर्ती क्षेत्र बेलहियाबाट छुट्ने गाडीहरुका चालकको परीक्षण शुरु गरिएको छ । ट्राफिक प्रहरीले आकस्मिक रुपमा विभिन्न ठाउँमा परीक्षण गर्ने गरेको जनाइएको छ । सर्वत्र जनगुनासो बढेपछि डण्डा खोला नजिकै संयुक्त टिमले परीक्षण गरेको हो । बेलहिया तर्फबाट आउने अधिकांस चालकहरुको परीक्षण ट्राफिक प्रहरीले गर्ने गरेको छ । केही शङ्कास्पद देखिएपछि किट मार्फत परीक्षण गर्ने गरिएको ट्राफिक प्रहरीले जनाएको छ । परीक्षण गरिएको ११ जना मध्ये ३ जनाले लागुऔषध सेवन गरेको पाइएको ट्राफिक प्रमुख साकारराज पन्तले बताएका छन् ।

विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउनेहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरीलाई बुझाउने गरेको पन्तले बताए, अनुसन्धान गरी प्रयोगकर्ता हो कि ओसारपसार वा अन्यमा संलग्न छ भन्ने खुलेपछि सोही अनुसार कारबाही हुने पन्तको दावी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.