भेटिएन बाघ : फिर्ता भए प्राविधिक, घर फर्काइए पाडा

| 2022 Jan 20 | 08:22 am 793

बाँके, माघ ६ः मान्छेलाई आक्रमण गरेको हिंस्रक बाघलाई नियन्त्रण गर्न चितवनबाट आएर हप्ता दिन जंगलमा खटिएको प्राविधिक टोली फिर्ता भएको छ । बाघ नै नभेटिएपछि प्राविधिक टोली ‘अप्रेसन’ बन्द गरेर फर्किएको हो । प्राविधिक टोलीले अप्रेसन बन्द गरेपछि बाघलाई लोभ्याउन जंगलमा बाँधिएका दुईवटा पाडाको ज्यान बचेको छ । हप्ता दिन जंगलमा राखिएका पाडालाई फिर्ता ल्याइएको छ । जिल्ला वन कार्यालय, बाँकेले पाडालाई किनेको ठाउँमै फिर्ता गरेको बुझिएको छ ।

पुस २२ गते राप्तीसोनारी गाउँपालिका–४ की लीला विष्ट र २४ गते राप्तीसोनारी गाउँपालिका–६ की चाँदनी थारूको बाघको आक्रमणबाट मृत्यु भएको थियो । दुई दिनको फरकमा दुई जनाको ज्यान लिएपछि हिंस्रक बाघलाई नियन्त्रणमा लिन चितवनबाट डा. अमिर सडौला र प्राविधिक तीर्थ लामा बाँकेमा आएका थिए । चितवनबाट आएको टोलीले दुवै ठाउँमा स्थलगत अध्ययन गरेपछि चाँदनीलाई आक्रमण गरेको सदाबहार सामुदायिक वनमा ताजा पाइला फेला पारेपछि त्यही आसपासमा दुईवटा पाडा बाँधेर बाघलाई नियन्त्रणको प्रयास गरिएको थियो । त्यसपछि त्यस ठाउँमा बाघ नै देखा परेन । प्राविधिक टोली माथि डाँडासम्म पुग्यो । कहींकतै बाघ नभेटिएपछि अप्रेसन बन्द गरिएको छ ।

वन डिभिजन कार्यालय, बाँकेका सहायक वन अधिकृत गणेश खड्काले बाघ नै नदेखिएपछि अप्रेसन बन्द गरिएको बताए । ‘बाघले ठाउँ नै परिवर्तन गर्यो । डाँडासम्म गएर हेर्दा देखा परेन । त्यसपछि प्राविधिक टोली फिर्ता भएको छ’, सहायक वन अधिकृत खड्काले भने– ‘अब अर्को ठाउँमा कतै देखा परेमा फेरि टोली परिचालन हुन्छ ।’ बाँकेमा पछिल्लो चार महिनामा बाघले चार जनाको ज्यान लिएको छ ।

राप्तीसोनारीमा तीन जना र नरैनापुरमा एक जनाको ज्यान लिएको थियो । जंगलमा पर्ने बाटोमा हिँड्ने र घाँस दाउरा गर्न जानेलाई पटक–पटक आक्रमणको प्रयास गरेको थियो । राप्तीसोनारी गाउँपालिका–४ की दुर्गा थारू हँसियाले हानेर बाघको पञ्जाबाट फुत्किएकी थिइन् ।

निकुञ्जसँग जोडिएका सामुदायिक वनमा बाघको चहलपहल बढेको छ । बाँकेमा २१ वटा बाघ छन् । बाघ बढेको आँकलनका बीचमा अहिले गणना भइरहेको छ । बाँकेमा बाघले घरघरमै आएर मान्छे र पशुलाई आक्रमण गरेको छैन । घरमै आएर मान्छे खान पल्केको बाघलाई नरभक्षी भनिन्छ । यहाँ जति पनि मानिसलाई आक्रमण भएको छ, सबै जना वनभित्र गएको बेलामा भएको छ । प्राविधिक टोलीले वनभित्र गएका मान्छेलाई आक्रमण गर्ने बाघलाई नरभक्षी नभनेर हिंस्रक भन्न मिल्ने बताउँछन् । ‘बाघ भएको ठाउँमा मान्छे गएपछि उसले आक्रमण गरिहाल्छ नि, घरघरमै आएर त आक्रमण गरेको छैन नि’, प्राविधिक लामाले भने– ‘जंगलभित्र जाँदा मानिसले सावधानी अपनाउनुपर्छ ।’

प्राविधिक टोली बाघलाई बेहोस बनाउने बन्दुक र थुन्ने खोर बोकेर जंगलमा खटिएका थिए । दुईवटा हात्ती परिचालन गरिएको थियो । बस्तीको नजिक मात्रै नभएर टाढासम्म बाघ नदेखिएपछि प्राविधिक टोली फिर्ता भएको भए पनि जंगल नजिक बस्तीमा बाघको त्रास कायमै रहेको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.