काठमाडौं असार ५ । काठमाडौ महानगरपालिका वडा नं. २९ का वडा अध्यक्ष कुश ढकालले धोवीखोलाको सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्न सिफारिस गरेको भन्दै सामाजिक विकास समाजले ढकाललाई निलम्बन गरी छानविन गर्न माग गरेको छ ।
मंगलबार सामाजिक विकास समाजको सभा हलमा पत्रकार सम्मेलन गरी समाजका अध्यक्ष ओम प्रसाद उप्रेती र महासचिव रक्ष बहादुर रैका मगरद्वारा हस्ताक्षरित वक्तव्यमा वडाअध्यक्ष ढकालले भू–माफियासँगको मिलोमतोमा अर्बौको सरकारी सम्पत्ती व्यक्तिका नाममा बनाउन लागेको आरोप लगाइएको छ । जारी गरीएको प्रेस वक्तव्यमा सार्वजनिक सरकारी जग्गा संरक्षण गर्ने दायित्व बोकेका वडाअध्यक्ष ढकाल नै सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्न लागि पर्नु अपत्तिजनक भएको उल्लेख गरिएको छ । वडाअध्यक्ष ढकालले साविक बानेश्वर महादेवस्थान वडा नं. ५ को कित्ता नं. १४३ को जग्गालाई नक्कली गुठी खडा गरी हिनामिना गर्न खोजेको पनि आरोप लगाइएको छ । करिव दुई अर्व मुल्य पर्ने धोबीखोलाको १२ रोपनी भन्दा बढी सरकारी जग्गा विक्री गर्ने योजनाका साथ सर्जमिन मूचुल्का खडा गरी कालमोचन गुठी त्रिपुरेश्वरमा सिफारिस गरेको प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।
पदीय दुरुपयोग गरेर सरकारी सम्पत्ति हडप्न खोज्ने वडाअध्यक्ष ढकाललाई तत्काल निलम्बन गरेर कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सामाजिक विकास समाजले वक्तव्य मार्फत आग्रह गरेको छ । समाजले घटनाको विषयमा छानविन गर्न गृह मन्त्रालय र सिआइवीलाई समेत आग्रह गरेको छ । लामो समय देखि भू–माफिया विरुद्द लड्दै आएको समाजको भवन समेत गुठीमा दर्ता गर्न खोजिएको पनि आरोप लगाइएको छ ।
(विज्ञप्तीको पूर्ण पाठ)



