भूकम्प र सुनामीमा परी ज्यान जानेको सङ्ख्या १४ सय पुग्यो

रिपोर्ट नेपाल | 2018 Oct 03 | 03:48 pm 1800

जकार्ता, १७ असोज : इन्डोनेसियाको सुलावेसी द्वीपमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या एक हजार ४०० पुगेको छ । यस भूकम्पमा फसेका व्यक्तिहरुको जिवीतै उद्धार गर्ने सम्भावना भने कम हुदै गएको संयुक्त राष्ट्रसघले जानकारी दिएको छ ।

भूकम्प र त्यसपछिको सुनामीमा ज्यान गुमाउनेको सङ्ख्या एक हजार ४०७ पुगेको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो नुग्रोहोले बुधबार बताए। इन्डोनेसियाको तटीय सहर पालुमा शुक्रबार ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्पबाट एक हजार ४०७ व्यक्तिको मृत्यु भईसकेको यहाँको प्रकोप नियन्त्रण निकायले जानकारी गराएको छ ।

इन्डोनेसियामा गएको भूकम्पको कारण तटीय क्षेत्रमा रहेको पालु शहर बढी प्रभावित भएको छ । यस भूकम्पको कारण करिब २ लाख व्यक्तिलाई मानवीय सहयोगको आवश्यता परेको र त्यसमा हजारौँ बालबालिका रहेका छन् । भूकम्पबाट ६६ हजार घर क्षतिग्रस्त भएको बताइएको छ । आंशिक रुपमा क्षति पुगेका घरको सङ्ख्या हजरौँ रहेको बताइएको छ । क्षतिको विवरण सङ्कलन भइरहेकोले यसको यकिन विवरण आइसकेको छैन ।

यसैवर्ष लोम्बोकमा गएको शक्तिशाली भूकम्पमा परी ५५० भन्दाबढी व्यक्तिको मृत्यु भएको थियो । इन्डोनेसियामा डिसेम्बर २००४ मा गएको ९.१ म्याग्नीच्यूडको भूकम्प र सुनामीका कारण एक लाख ६० हजारभन्दा बढीको मृत्यु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.