भूकम्पकाे बेला भाग्ने क्रममा लडेर एककाे मृत्यु

| 2022 Nov 13 | 06:00 pm 1349

बैतडीकात्तिक २७ः बैतडीमा भूकम्प आएको बेला भागेर घर बाहिर निस्किँदा लडेर एकजनाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका–१, सेल्तडाका ६६ वर्षीय हरि लुहारको भूकम्पको धक्का महसुस भएका बेला भाग्ने क्रममा घरको सिँढीबाट लडेर मृत्यु भएको हो ।

शनिबार राति ८ बजेर १२ मिनेटमा भूकम्प आएको बेला बाहिर भाग्ने क्रममा लडेर घाइते भएका लुहारको राति ११ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार मृतक ६६ वर्षीय लुहार दमको रोगी थिए । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी निरीक्षक योगेश खत्रीको कमाण्डमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकराज जोशीले जानकारी दिए ।

पारिवारिक स्रोतका अनुसार, भूकम्प आएपछि भाग्ने क्रममा लुहारको मृत्यु भएपछि मृतकका परिवारलाई गाउँपालिका र अन्य सहयोगी निकायका तर्फबाट किरिया खर्च र अन्य सामग्री प्रदान गरिएको छ ।

गाउँपालिकाका प्रतिनिधिले मृतकको परिवारलाई २० हजार किरिया खर्च उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ । यस्तै, नेपाल रेडक्रस सोसाइटी, स्काउट लगायतका सङ्घसंस्थाहरूले मृतकका परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेको स्काउट डिलासैनीका संयोजक तेजराज जोशीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.