भुपेन्द्र बडुवालको हत्यामा संलग्न १२ जना अभियुक्त पक्राउ

| 2021 Dec 06 | 06:48 pm 1245

कैलाली, मंसिर २०ः लम्कीचुहा नगरपालिका-१ लम्की चौराह बस्ने २३ वर्षीय भुपेन्द्र बडुवालको गत कात्तिक २३ गते बेलुकी धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा १२ जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका -३ चिसापानी बस्ने २३ वर्षीय महेश रावल, २० वर्षीय धिरज भन्ने दिपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, सोही नगरपालिका-१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय किशोर, सोही नगरपालिका-५ बस्ने २८ वर्षीय विकास खड्का, टिकापुर नगरपालिका-१ बस्ने २३ वर्षीय प्रबिण रिमाल, सोही नगरपालिका-१ ब्लक नम्बर २५ बस्ने बर्दिया राजापुर नगरपालिका-७ घर भएका २१ वर्षीय रोहित आले, सोही ठाउँ ब्लक नम्बर १४ बस्ने २५ वर्षीय सोहन शाह, बर्दगोरिया गाउँपालिका-२ झगढपुर बस्ने २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दिया ठाकुरबाबा नगरपालिका-३ गोदाना बस्ने २६ वर्षीय सन्तोष भन्ने सविन जंग शाही रहेका छन् ।

टिकापुर नगरपालिका-१ स्थित सिद्वार्थ होटल नजिकै अपरिचित ब्यक्तिहरुको धारिलो हतियार प्रहारबाट भुपेन्द्र गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टिकापुरबाट प्रहरी टोली परिचालन गरी तत्काल घाइतेलाई उपचारको लागि टिकापुर अस्पताल लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

लम्की, चिसापानी, टिकापुर लगायतका क्षेत्रमा नदीजन्य पदार्थ तथा वन पैदावारको ठेकापट्टाको विषयलाई लिएर एकै समूहबीच मनमुटाव र वैमनश्यता उत्पन्न भई दुई समूहका युवाहरूबीच झै-झगडा हुन थालेपछि एकआपसमा आक्रमण गर्ने योजना बनाएकोमा टिकापुरमा लुकी बसेका कपिल श्रेष्ठले भुपेन्द्र बडुवाललाई लिन बोलाएपछि टिकापुर गएको अवस्थामा आर्यन देवकोटा समेतले भुपेन्द्रलाई फेला पारी हामी विरुद्ध टिकापुर आएको भन्दै ईवी लिई करिब २ किलोमिटरसम्म लखेटी उक्त होटेल नजिक पुर्‍याए पश्चात धारिलो हतियार प्रहार गरी भागेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ ।

उक्त घटनामा संलग्न रही फरार रहेका अन्य ९ जना अभियुक्तहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.