भुजेल समाज सेवा समिति चितवनले प्रकृतिको पूजा गरी ‘उभाैली’ मनाए

रिपोर्ट नेपाल | 2018 Dec 23 | 06:19 pm 3055

चितवन, पुस ८ : भुजेल समाज सेवा समिति चितवनले ‘भुजेल’ जातिको मौलीक पर्व ‘उभौली’ भव्य तरिकाले मनाएको छ । शनिबार भरतपुर महानगर वडा नम्बर १६ चितवनस्थित ज्ञानेश्वर समुदायीक बनमा एक भव्य कार्यक्रमको आयोजना गरी भुजेलहरुले उभौली पर्व मनाएका हुन् ।

भुजेल समाज सेवाका वरिष्ठ सल्लाहकार , युवा नेता तथा भुजेल अभियन्ता प्रकाश भुजेलको उपस्थित र चितवन क्षेत्र नम्बर ३ ‘ख’ बाट निर्वाचित प्रदेश शभा सांसद राम लाल महत्तोको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरि भुजेलहरुले उभौली मनाएका हुन् ।



भुजेल जातिहरूले प्रकृतिको पूजा गरी मंसिरे पूर्णिमाको अवसरमा उभौली मनाउँदै आएका छन् । विशेष गरी जल, जमिन, वायु र जंगलको पूजा गरी अभौली मनाउँदै आएका छन् ।

उक्त कार्यक्रमका प्रमुख अतिथि सांसद रामलाल महत्तोले कार्यक्रमलाई सम्बोधन गर्दै आदिवासी र उत्पीडित वर्गलाई राजनीतिक मूल धारमा ल्याउन नसक्दा ‘नयाँ नेपाल’ निर्माण हुन नसक्ने बताए । विशेष अभिव्यक्ति राख्ने क्रममा प्रकाश भुजेल ले देशैभर छरिएर रहेका घर्ती, भुजेल जातिहरूलाई संगठित गर्ने अभियान सुरु गरिएको र त्यसको सुरुवात चितवन बाट गरिएको बताए ।



उनले घर्ती ,भुजेल जाती सदिऔ देखि विभेदकारी नीति नियम र राज्यको दमन र उत्पीडन को सिकार भएको हुनाले आफ्नो अधिकार र मुक्तिको लागि सरकारसँग विगत लामो समयदेखि अनबरत आन्दोलन गर्दै आएकोमा केही थोरै उपलब्धी हासिल भएता पनि त्यो पर्याप्त नभएको बताउदै ‘सरकारले भुजेलहरुलाई राज्यको मूल धारमा ल्याउने नीति र कार्यक्रम तथा आरक्षणको विशेष योजना नल्याएसम्म सरकारले समृद्धिको सपना देख्नु भनेको गाउँ खाने कथा मात्रै हुनेछ’।

चितवनको भुजेलहरुलाई सङ्गठित गर्नको लागि काठमाडौँको एक दशको बसाई छाडेर आफू चितवन आएको समेत उनले बताए । चितवनका प्रमुख राजनैतिक दलहरूले चितवन जिल्लाभर बसोबास गर्ने बीसौ हजार भुजेलहरुको भावना विपरित अघि बढेमा राजनैतिक दुर्घटना हुने भन्दै समयमै यसबारे सचेत रहन आग्रह गरे। साथै आफू चितवनका भुजेलहरुको आन्दोलनको नेतृत्व लिन तयार रहेको स्पष्ट पारे।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमको विशेष अतिथि तथा नेकपा का प्रदेश सदस्य यम बहादुर परियारले भुजेल जातिलाई मूलधारमा ल्याउनु पर्ने बताए । उनले १० वर्षे जनयुद्धमा विभिन्न जातीय मुक्ति मोर्चा बनाउने क्रममा ‘घर्ती ,भुजेल मुक्ति मोर्चा’ गठन गरेको बताउँदै पुन त्यसलाई अध्यावधिक गराउदै भुजेल जातिलाई मूलधार राजनीतिमा ल्याउनु पर्ने बताए ।

अर्का विशेष अतिथि विजय भुजेलले भुजेल जातिलाई राज्यले हेर्ने दृष्टिकोण फरक भएको बताए । भरतपुर महानगरपालिका वडा नम्बर–२५ को वडा अध्यक्ष समेत रहेको विजयले ‘भुजेल जाती’लाई हेर्ने राज्यको आँखा परिवर्तन नभएको जिकिर गरे ।

कार्यक्रमको अध्यक्षता चितवन भुजेल समाजका अध्यक्ष हरि बहादुर भुजेलले गरेका थिए भने राम बहादुर भुजेलले कार्यक्रम संचालन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.